प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रपति कार्यालयलाई नयाँ दरबार बनाउन खोजेको आरोप लगाएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले राष्ट्रपतिलाई सुविधा बढाएर सरकारले नयाँ दरबार बनाउन खोजेको आरोप लगाए। उनले १८ करोडको गाडी, डेढ अर्ब नयाँ दरबार झन विलासको विम्बा बनाएर लाने सरकारको निर्णयबाट गणतन्त्र बलियो नहुने जिकिर गरे।
रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधनमार्फत गलत तथ्यांक प्रस्तुत गरेपनि देशको अवस्था त्यस्तो नभएको दाबी गरे। उनले सरकार गणतन्त्र र संघीयता कमजोर बनाउन लागिपरेको आरोप समेत लगाए।
बुद्धिजीवीलाई लखेटेर, थला पारेर, कर्मचारीलाई तर्साएर, पत्रकारको पेशागत स्वतन्त्रता हनन गरेर, सत्याग्रहीको मान मर्दन गरेर तथा संसद् छलेर लोकतन्त्र बलियो नहुने रिजालले बताए। संघीयता बलियो बनाएको भनेर प्रधानमन्त्रीले झूट बोलेको उनले बताए। रिजालले प्रधानमन्त्री ओलीले नेप्से घटेको काठमाडौं खाल्टोबाट नदेखेर झापामा भ्यूटावर बनाउन खाजेको टिप्पणी गरे।