संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले वाइडबडी विमान खरिदबारे लेखा समितिले अनुमोदन गरेको प्रतिवेदन लुकाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
आइतबारको संसदको विशेष समयमा सांसद यादवले खरिद प्रक्रियामा संलग्न केही मन्त्रीलाई जोगाउन समितिका सभापति नै प्रतिवेदन लुकाउन लागि परेको आरोप लगाएका हुन्। यादव सांसद राजन केसीको संयोजकत्वमा गठित वाइड वडी छानबिन उपसमितिका एक सदस्यसमेत हुन्।
यादवले वाइडबडी विमान खरिदबारे सार्वजनिक लेखा समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सो खरिद प्रक्रियामा संलग्न दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउन माग गरे।
बैठकमा नेकपाका सांसद यज्ञराज सुनुवारले वाइडबडी घोटालामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम पनि जोडिन आएकाले यसबारे सत्यतथ्य के हो ? संसदलाई जानकारी गराउन माग गरे।
यस्तै, सांसद मोहन बानियाँले संघीयताको मर्मअनुरुप सेवाग्राहीलाई पालिकाबाट नै सबै सेवा उपलब्ध गराइने व्यवस्था मिलाउन माग गरे।