शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको चिकित्सा शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ।
समितिकी सभापति जयपुरी घर्तीले आइतबारको बैठकमा प्रतिवेदन पेस गरेकी हुन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत असार २२ गते संसदमा दर्ता भएको थियो। प्रतिनिधिसभाको साउन १३ को बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको थियो।
समितिको असोज ११ को बैठकबाट विधेयकको सम्बन्धमा दफावार छलफल गरी समिति समक्ष प्रतिवेदन पेस गर्न १० सदस्यीय उपसमिति गठन भएको भन्दै सभापति घर्तीले उपसमितिले १५ वटा बैठकमा शिक्षा मन्त्री, संशोधन पेस गर्ने सांसदहरु, सरोकारवाला र सम्बन्धित विषय विज्ञहरुसँग छलफल गरी विधेयकमाथिको दफावार छलफल गरी पुस २३ गते समितिमा प्रतिवेदन पेस जानकारी दिइन्। समितिको पुस २५ गतेको बैठकले बहुमतले प्रतिवेदन पास गरेको उनले बताए।
चिकित्सा शिक्षा विधेयक समितिबाट पारित भएसँगै विधेयकका विषयमा असन्तुष्ट डा.गोविन्द केसी इलाम पुगेर अनशन बसिरहेका छन्। डा. केसीको समर्थनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले विधेयकप्रति संसदमा असन्तुष्टि व्यक्ति समेत गरेका छन्।