प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन्।
सुर्खेतमा आइतबार दिउँसो आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति निधिले ओली नेतृत्वको दुई तिहाई बहुमत प्राप्त सरकारले संघीय संरचना अनुसार काम गर्न नसकेको आरोप लगाए। उनले सबै अधिकार केन्द्रमै राखेर प्रदेश सरकारलाई निरीह बनाइएको बताए।
‘प्रदेश सरकार निरीह भएका छन्। अधिकार पाएका छैनन्, सबै अधिकार केन्द्रमै राखिएको छ। संघीय संरचना अनुसार सरकारले काम गरेको छैन। यो भनेको सरकार असफल हुनु हो,’उनले भने।
उपसभापति निधिले ओली सरकारले जनवादी केन्द्रीयताको अभ्यास गरिरहेको आरोप लगाए। ‘सबै अधिकार प्रधानमन्त्री कार्यालय मातहत ल्याएर केन्द्रीकृत गरिएको छ,’निधिले भने,‘ सरकारले प्रदेश सरकारलाई निरीह बनाएर केन्द्रमा शासन चलाउन खोजिरहेको छ।’
उनले प्रहरी, सेना, प्रमुख जिल्ला अधिकारीलगायत कुनै पनि निकाय प्रदेश सरकारको मातहतमा नरहेको बताए। उनले केन्द्रले प्रदेश सरकारलार्य अधिकार नदिएर प्रदेश सरकारलाई निरीह बनाउन खोजेको आरोप लगाए।
‘सातै प्रदेशमा सत्तारुढ दलकै सरकार छन्। उनीहरुले अधिकार पाएका छैनन्,’उनले भने,‘निरीह हुँदा पनि प्रदेश सरकार किन त्यसविरुद्ध बोल्न सकेका छैनन्? केन्द्र सरकारले संविधान अनुसार अधिकार बाँडफाँड गर्न किन सकिरहेको छैन।’