नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्नुपर्नेमा जाेडदिएका छन् ।
रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीले डा केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए । सरकारले अहिले दम्भ र उत्तेजना देखाउन बेला नभएको उनको भनाइ छ । गोविन्द केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीहरुको अभियन्ता पनि भएको श्रेष्ठले बताए ।
आफूहरु डा केसीको पृष्ठपोषक नभएको भन्दै श्रेष्ठले डा केसीले उठाएका मागहरु भने कम्युनिष्ट सरकारले उठाउनुपर्ने जिकिर गरे । वर्तमान सरकारले डा केसीसँग सम्झौता गरेको तर कार्यान्वयन नगरेकोमा उनले गुनासो गरे ।
त्यस्तै नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले दुई तिहाई बहुमतको सरकारले केसीका सबै माग पूरा गर्छौं भनेर सम्झौता गरेको भन्दै सम्झौता अनुसारको काम सरकारले गर्नुपर्ने धारणा व्यक्त गरे । केसीले हिजो गोविन्द केसीसँग लम्पसार परेर सम्झौता गर्ने वर्तमान सरकारले आज आएर केसीका मागहरु समयसापेक्ष छैनन् भनेर भन्न नपाउनेपनि जिकिर गरे।
साक्षात्कारमा नेकपाका नेता डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाए । अधिकारीले डा केसी अहिले देशी तथा विदेशी शक्तिको पञ्जामा परेको पनि आरोप लगाए ।