राष्ट्रिय जनमोर्चा नेपालले संगठनात्मक अभियान चलाउने भएको छ। जनमोर्चा केन्द्रीय समितिको बुटवलमा बसेको प्रथम राष्ट्रिय परिषद्को बैठकले संगठनात्मक अभियान चलाउने निर्णय गरेको हो।
पार्टीले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी गत पुस २७ र २८ गते बुटवलमा सम्पन्न प्रथम राष्टिय परिषद् बैठकबारे जानकारी गराएको हो।
कार्यकारी अध्यक्ष रस्मीराज नेपालीले माघ १९ गते देश व्यापीरुपमा विरोध सभा समेत बताए। महँगी भ्रष्टाचार, कालोबजारी नियन्त्रणलगायतका विषयमा दबाब दिने उद्देश्यले विरोध सभा गर्न लागिएको नेपालीले बताए।
अहिलेको परिस्थितिमा देश विकासभन्दा पनि अधोगतितर्फ गएको भन्दै राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण समेत भएको जनाएको छ । बैठकले संघीयता खारेजी गर्न माग गरेको छ। अहिले अनावश्यक खर्च बढेको, जातीय, क्षेत्रीय द्वन्द्व बढाएको, राष्ट्रियता नै विखण्डनतर्फ अगाडि बढेको भन्दै जनमोर्चाले अविलम्ब संघीयता खारेजीको विकल्प नभएको दाबी गरेको हो।