सभामुख कृष्णबहादुर महरा र चिनियाँ राजदूत हाउ याङछबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार भएको भेटमा नवनियुक्त राजदूत याङछीले चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाएको शुभकामना सन्देश सभामुखलाई हस्तान्तरण गरेकी थिइन्। भेटमा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै प्रगाढ र घनिष्ट रहेको बताएका थिए। उनले दुई देशबीच कूटनीतिक र राजनैतिक सम्बन्धका साथै दुई देशका जनताबीच पनि घनिष्ट सम्बन्ध रहेको बताए।
‘नेपाल र चीनबीच कूटनीतिक र राजनीतिक सम्बन्ध प्रगाढ त छँदैछ, सभामुख महराले भने, ‘दुई देशका जनताबीचको सम्बन्ध पनि निकै घनिष्ट रहेको छ, जसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाएको छ।’ नयाँ चिनियाँ राजदूतको रुपमा नेपाल आएकी याङ्छीलाई स्वागत गर्दै सभामुख महराले कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।
चीनले नेपालको जलविद्युत, पर्यटन, सडकलगायतका थुप्रै क्षेत्रमा सहयोग गरिरहेको बताउँदै सभामुख महराले आगामी दिनहरुमा पनि चीनको सहयोग विस्तार हुनेमा विश्वास व्यक्त गरे। चीनको सहयोगले नेपाल–चीन रेल सेवा चाँडै सम्पन्न हुनेमा आफूहरु विश्वास रहेको भन्दै सभामुख महराले केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग चाँडै बन्नेमा विश्वस्त रहेको बताएका थिए।
सभामुखसँगको भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त नजिकको रहेको बताएकी थिइन्। उनले आफ्नो कार्यकालमा चीन–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन एवं नेपालको विकास र समृद्धिका लागि आफू लागिपर्ने बताए।
राजदूत याङ्छीले वेल्ट एण्ड रोड परियोजनामा नेपाल महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै नेपालले पनि उक्त परियोजनाबाट महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेकी थिइन्।