देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। तर याे पर्वकाे नाम स्थान र समुदाय अनुसार भने फरक फरक रहेकाे पाइन्छ। माघे संक्रान्तिका अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुले छुट्टा छुट्टै शुभ कामना सन्देश जारी गरेका छन्।
राष्ट्रिपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै माघे सङ्क्रान्ति पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्जनका साथै मिष्ठान्न भोजन गर्दै मनाउने प्रचलन रहिआएको उल्लेख गरेकि छिन्। सन्देशमा राष्ट्रपति भण्डारीले थारु समुदायमा माघी पर्व नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइने उल्लेख गरेकी छिन्।
“यस पर्वले हाम्रो समाजका विभिन्न जातजातिबीच आपसी मेलमिलाप अभिवृद्धि गरी सामाजिक एकता सुदृढ बनाउन मद्दत गर्ने विश्वास मैले लिएको छु। विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्,” राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ।
यस्ता पर्वले भौगोलिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान दिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विभिन्न समुदायले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यस विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पुर्याउने उल्लेख छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको बताए।
नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी सम्मिश्रण एवम् साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहाद्र्रताका लागि विश्वकै नमूना राष्ट्र भएको स्पष्ट पारे।
उपराष्ट्रपतिले यस पर्वलाई सकारात्मक कामको थालनी अर्थात् सकारात्मक ऊर्जाको शुरुआतका रुपमा मनाउन र आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको मार्गमा अगाडि बढ्न आग्रह पनि गरेका छन्।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताएका छन्।
माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको र विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय भएको उल्लेख गरे।
सबै जात र समुदायको सहभागितामा निर्माण गरी जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी ‘समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौँ’ विज्ञप्तिमा भनिएको छ। अभियानलाई सफल पार्न सरकार र सबै सङ्घसंस्था तथा समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको विज्ञप्तिमा विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेको ती पर्वले सबैको घरमा सुख र शान्तिको अनुभूति गराउन सकोस् भन्ने शुभेच्छा प्रकट गरिएको छ।
सम्पूर्ण नेपालीेको बीचमा यस पर्वले बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको उल्लेख गरिएको विज्ञप्तिमा हाम्रा यस प्रकारका चाडपर्व पर्यटकीय आकर्षणका लागि पनि प्रभावकारी हुने जनाइएको छ।
त्यस्तै, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना दिँदै माघ १ गते ‘मकर सङ्क्रान्ति र माघे सङ्क्रान्ति’लाई नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँदै आएको उल्लेख गरेका छन्। नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गम स्थल रहेको बताउँदै उहाँले विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने उल्लेख गरे।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुंगा सावित हुने सभापति देउवाले विश्वास व्यक्त गरे।
यसैबीच नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै जसले जसरी मनाए पनि सबै चाडपर्व र रितिरिवाजले सबै नेपाली समुदायलाई एकसुत्रमा बाँधेको उल्लेख गरेका छन्। सन्देशमा उनले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
सभामुख कृष्णबहादुर महराले सांस्कृतिक विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताएका छन्।
थारू, मगरलगायत आदिवासी जनजाति समुदायको सांस्कृतिक पर्व एवं नेपालीको महत्वपूर्ण चाड माघे सङ्क्रान्ति-माघ पर्व-माघे सक्रान्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै यस पर्वले सबै जातजाति, समुदाय र नेपालीमाझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे।
प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले मकर सङ्क्रान्ति अर्थात् माघी पर्व २०७५ को अवसरमा आज शुभकामना दिँदै यस पर्वले विभिन्न जातिबीच आपसी सदभाव, मित्रता र भाइचारा सम्बन्धको विकास गरी सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्नमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
यस पर्वबाट मित्रता, मेलमिलाप, सहिष्णुतालाई अक्षुण्ण राख्न सकिने पनि बताए।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्व, २०७५ को अवसरमा आज शुभकामना दिदैं यस्ता चाँडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।