गत बुधबारदेखि इलाममा अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सुईबाट एन्टिबायोटिक औषधी दिन सुरु गरिएको छ । उनलाई भेन्टिलेटरमा नै राख्नुपर्ने अवस्था आएपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरहरुको टिम इलाम गएको हाे ।
प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रशान्त शाही र इमरजेन्सी मेडिसिनका डा अजय यादवसहित ११ जनाको टोली इलाम गएकाे हाे। ‘डा केसीको स्वास्थ्यमा आउनसक्ने सबै खतराको तत्कालै उपचार गर्न सक्ने गरी टोली र त्यसका लागि आवश्यक पर्ने उपकरणसहितको सामग्री दिएर इलाममा पठाइएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानबाट गएको टोलीले केसीलाई आइसियूमा दिनसक्ने उपचार सेवा उपलब्ध गराउन सक्नेछ । डा केसीलाई भेन्टिलेटरमा समेत राख्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ। उनलाई प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिक उपचारका लागि शय्यासमेत तयारी अवस्थामा राखिएको छ ।
डा केसी चिकित्सा शिक्षा विधेयक विगतमा भएको सहमति अनुसार आउनु पर्ने लगायतका ६ बुँदे माग राखेर पुस २५ गतेदेखि आमरण अनसनमा छन्।
अनसन बस्नुभन्दा केही समयअघि बिरामी परेर अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आएका डा केसीको मुटुमा समस्या छ। अनसनमा रहेका डा केसीलाई निमोनिया देखिएको छ भने मुटुको चाल अनियन्त्रित भएको छ। अक्सिजनको मात्रा पनि कम भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।