कुनै समय दलाल र बिचौलीयाहरुको अखाडा रहेको जिल्ला प्रशासन कार्यालय धनुषा अहिले सुनसान देखिन्छ । कार्यालयको गेटबाटै वर्षौदेखि विचौलियाहरुबाट सेवाग्राहीले सामना गर्दै आएको प्रश्न ‘के काम छ तपाँइको ?’ अहिले कार्यालय भित्रको कर्मचारीबाट मात्रै सुन्ने गर्छन् । दिनहुँ सेवाग्राहीसँग कार्यालयको गेटबाटै बार्गेनिङ्ग गर्ने बिचौलियाहरु परसम्म देखिदैनन्, जिल्ला प्रशासन कार्यालय धनुषामा ।
सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचारमध्ये सबैभन्दा बढी चलखेल हुने अड्डाको रुपमा चिनिएका प्रशासन कार्यालयमा कर्मचारीसँग सेटिङ्ग मिलाउने र धेरै पैसा लिएर काम गराउने लाइनमा बसेका विचौलियाहरु केही दिनयता एकाएक हराएको देखिएको हो । जिल्ला प्रशासन कार्यालयकै संरक्षणमा सर्वसाधरणसँग मनपरी रकम असुलेर काम गर्न पल्केका बिचौलिहरुमाथि केहीदिनयता कडाई गरेपछि सेवाग्रही हर्षित देखिएका छन् ।कार्यालयले विचौलीमाथि निषेध गरेपछि आफुहरुलाई काम गर्न सहज भएको सेवाग्राहीहरु बताउँछन् ।
‘पहिला विचौलियाहरुले यहाँका कर्मचारीलाई खल्तीमै पालेका थिए तर उनीहरु नभएपछि कर्मचारी आफैँले घुस माग्दैनन, हामीलाई काम गराउन सहज भएको छ’, कमला नगरपालिका–४ का सेवाग्राही ब्रहमदेव साहले भने । पहिले सुरक्षाकर्मीले अनुमति दिएपछि मात्रै कार्यालय भित्र प्रवेश गर्ने गरेका थिए । तर, अहिले कार्यालाय भित्र प्रवेश गर्नुअघि सोधपुछ गर्ने सुरक्षाकर्मी हटाइएको छ ।
सम्पुर्ण कागजात तथा प्रमाण हुँदाहुँदै पनि घुस माग्ने बहानामा कर्मचारीले बिचौलीकहाँ पठाउने गरेको र सेवाग्राहीलाई व्यर्थमै दुःख दिएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीले कर्मचारीहरुमाथि कडाइ गरेका हुन् ।
सिडिओ कार्यालय वरपरका पसल देखि लिएर कार्यालय परिसर भित्रैका चिया पसलमा समेत १० रुपैयाँ पर्ने टिकट २० रुपैयाँमा बिक्री हुने गरेपनि अचेल सेवाग्रहीहरुले १० रुपैँयामै किनिरहेका छन् । कार्यालय परिसर भित्रै हुलाकाका कर्मचारीले टिकट बेचेर बसेका हुन्छन्, । कार्यालय वरपरका पसलेहरुले पनि मूल्यभन्दा दोब्बर तेब्बर रुपैँया लिएर खुलेयाम बेच्दै आएकोमा कार्यालयले भने अहिले प्रतिबन्ध लगाएको छ ।
जानकारी अभावमा कार्यालय भित्रै पनि भौतारिदै गरेको देखेर अहिले कार्यालय परिसरको बीचमै चारैतीर कुर्सी राखि सेवा कक्ष बनाइएको छ । ‘कुन काम कहाँ गराउने कसरी गराउने अब सहजै जान्न सकिन्छ, सेवा कक्षबाट हामीलाई राम्रो सुविधा भएको छ,’ जनकपुर उपमहानगरपालिका–१ का सेवाग्राही शिवजी महतो भने ।
बिरलै मान्छेहरु बस्ने देखिने गरेको नागरिक सहयता अहिले रंगीचंगी र कार्यालय परिसरमै आकर्षक देखिन्छन । कागजका टुक्राले कुरुप देखिएका सिडियो कार्यालय परिसर तथा आसपासका फुटपाथ तथा सडक समेत सफा, चिटिक्क देखिएको छ, अहिले । कार्यालयको गेटमै कागज, पलास्टिकजन्य तथा अन्य फोहोर डस्टबिनमा नफाले कारबाही हुने सूचना टाँसिएको छ । विगतमा कहिले नदेखिएको कार्यालय परिसर भित्र ठाउँ ठाउँमा डस्टबीन राखिएका छन् भने छेउछाउका फोटोकापी पसलदेखि चियापसल अगाडीसम्म समेत फोहोर फाल्ने बाल्टिन र कार्टनु देखिन थालेका छन् ।
कामको चापले अनुहार अध्याँरो देखिने जोकोही कार्यालय परिसरमा गमलामा ढकमक्क फूल फुलेको हेर्दा मख्ख पर्छन् । कागज फ्याक्ने तथा गुठका, पान पराग खाएर थुक्ने ठाउँहरुमा ढकमक्क फूल फुलेको गमला राखिएको छ कार्यालय परिसरमा । जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हालेको बितिकै आफुले कर्मचारी तथा विचौलीया दुबै माथि विशेष निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल बताउँछन् । निगरानी राखेपमिछ करिब एक महिना अगाडी नक्कली नागरिक्ता बनाउने गिरोह नै समातिए । नक्कली नागरितक्ता बनाउने गिरोहमा कार्यालयकै चार जना कर्मचारी सहित ८ जना पक्राउ परे । त्यसयता कर्मचारीहरु आफै सचेत र जिम्मेवार भएको उनले जनाए । कर्मचारीलाई पनि हामीले एक पटक सुध्रिने मौका दिएका छौँ, लेखापढी व्यवसायीले पनि कार्यालयमा आवश्यक्ता नदेखेर गइसके, कणेलले भने ।
पछिल्लो समय जिल्ला प्रशासन कार्याल धनुषामा बिचौलियाहरु नदेखिएपनि अन्य सरकारी कार्यालहरुमा भने आखडा नै रहेको पाइएको छ । सेवाग्राहीले सानोतिनो काम गराउन आएपनि बिचौलियाले मनपरी पैसा लिनु र आवश्यक अन्य काममा समेत मनपरि असुलेको पाइएको हो । उच्च अदालत, जिल्ला अदालत, नापी, मालपोत, भूमिसुधार, यातायात, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालयहरूमा दोब्बर मूल्य लिएर फोटोकापी, फोटो, लेमिनेसन, हुलाक टिकट लगायतका सरकारी कामकाजमा उपयोग हुने वस्तुको चर्को मूल्य लिने गरेको पाइएको छ ।