संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन ७३ हजार ३ सय ३० कर्मचारीले अनलाइन फाराम भरेका छन्।
फाराम भर्न दिइएको २१ दिनको म्याद बुधबार सकिँदैछ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुका अनुसार ६२ हजार ४६ जनाको फाराम सफ्टवेयरमा दर्ता भइसकेको छ भने ११ हजार २ सय ८३ जनाले भरेको फाराम सफ्टवेयरमा पोस्ट हुन बाँकी छ। बुधबार राति ११:५९ बजेसम्म कर्मचारीले अनलाइनमा फाराम अपलोड गर्न सक्नेछन्।
अध्यादेशले वृत्तिविकास रोकेको भन्दै सुरुमा कर्मचारी आन्दोलित भए पनि उनीहरूका माग संघीय निजामती कर्मचारी ऐनमा समेटिने सरकारको घोषणापछि समायोजन प्रक्रिया सहज भएको थियो। मन्त्रालयले गत पुस ११ गते समायोजनका लागि चारवटा छुट्टाछुट्टै सूचना प्रकाशित गरेको थियो।
समायोजन सूचना जारी गर्दा सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ। त्यसैअनुसार कर्मचारी समायोजन हुनेछ।
राष्ट्रिय निजामती किताबखानामा ८९ हजार कर्मचारीको विवरण भए पनि समायोजन फाराम भर्ने कर्मचारीको संख्या बुधबारसम्म करिब ७५ हजार पुग्ने देखिएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए। कान्तिपुरमा खबर छ।