नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद आजदेखि सकिँदै छ ।
नेवि संघको दुईवर्षे कार्यकाल गत भदौमै सकिएपछि तीन महिनाका लागि मंसीर २ गतेसम्म म्याद थप गरिएको थियो। सो समयमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेस केन्द्रीय समितिको मंसीर १ गतेको बैठकले विधान संशोधन गरी माघ २ गतेसम्मका लागि कार्यकाल थप गरेको थियो।
पार्टीले पनि यस बिषयमा केही नबोलेपछि नेवि संघको नेतृत्व कामचलाउ भएको छ। यद्यपि माघ १० गतेका लागि कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोही बैठकमा नेविसंघको विषयमा छलफल हुने बताए । ‘विधानतः ११औं महाधिवेशनबाट निर्वाचित नेवि संघ केन्द्रीय कार्यसमितिको म्याद माघ २ गतेसम्म थियो’, प्रवक्ता शर्माले भने ‘अब कसरी अगाडि बढ्ने भन्नेबारे माघ १० गतेको केन्द्रीय समिति बैठकमा छलफल हुन्छ ।’ महाधिबेशनको तयारी अगाडि बढेको बताइए पनि हालसम्म १५ जिल्लाको मात्र अधिबेशन हुन सकेको छ।
यसैबीच, महाधिबेशन समयमा हुन नसकेपछि उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले २७ पुसमा सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए भने सहमहामन्त्री हरिहर शर्मा नेतृत्वमा ४५ सदस्यीय टोलीले आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझाएका छन्।