प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरोहरको पुनर्निर्माणको काम तीव्रताका साथ अघि बढेको बताएका छन्।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबार ललितपुरको पाटनमा ऐतिहासिक धरोहरको पुनर्निर्माणको कामको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक धरोहरको पुनर्निर्माणको काम सही बाटोमा अघि बढिरहेको बताए।
पुरात्वात्विक कलालाई महत्व दिँदै ठीक ढंगले पुनर्निर्माणको काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले यसमा आमजनता, स्थानीय तह लगायतको उत्साहजनक सहभागिता पाएको जिकिर गरे। बैशाख १२ को भूकम्पले नयाँ पीडा र नयाँ शिक्षा दिएको भन्दै उनले भएका क्षतिलाई अब छिटो भन्दा छिटो पुनर्निर्माण गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले प्रकोपको क्षतिलाई न्यूनीकरण गर्न सचेतना कार्यक्रमलाई पनि सरकारले छिट्टै अघि बढाउने बताए। प्रधानमन्त्री ओलीलाई पाटन दरवार स्क्वायर क्षेत्रमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन लगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीलाई पुरातत्वविद् लगायतले पाटन दरबार स्क्वायरका मठमन्दिर पुनर्निर्माणको कामको बारेमा जानकारी गराएका थिए। बैशाख १२ को विनासकारी भूकम्पबाट दरबार स्क्वायरका विश्वनाथ र भीमसेन मन्दिर, मणिमण्डप पाटी, हरिशंकर, विश्वनाथ, कृष्ण, चार नारायण मन्दिर, बहादुर शाह भवन र आँगन घरमा पूर्ण क्षति पुगेको थियो। क्षति भएकामध्ये केही सम्पदा पुनर्निर्माण भइसकेका छन्।