नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा नेकपा र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरु दोषी भएको आरोप लगाएका छन्।
उनले सत्तारुढ नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाबीच वाइडवडी खरिद प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको पनि दाबी गरे।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘वाइडबडी खरिदमा नेकपा र प्रमुख प्रतिपक्ष दल कांग्रेसका मुख्य नेताहरु नै संलग्न छन्। त्यसैले यो प्रकरणलाई छाकछोप गर्ने उनीहरुबीच सहमति भएको छ।’
उनले संसदको सार्वजनिक लेखा समितिले विमान खरिदमा झण्डै साढे ४ अर्ब रुपैयाँ अनियमितता भएको तथ्य बाहिर ल्याएपछि प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवा त्यसबाट डराएको बताए। भट्टराईले आफ्नो पार्टीले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन संघर्ष गर्ने बताए।
‘हामी दोषीलाई कारवाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्छौं,’ उनले भने। भट्टराईले विमान खरिद प्रकरणमा भएको भ्रष्टाचार विरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई अपिल पनि गरे।