प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटनाको भत्र्सना गर्दै शिक्षक संघले दोषीलाई कडा कारवाहीको माग गरेको छ।
संघले सचिव झामाथि मन्त्रीले कुटपिट गरेको घटनामा सरकारकै मन्त्रीको अध्यक्षतामा छानविन समिति बनेको भन्दै आपत्ति समेत जनाएको छ। बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष मेघनाथ यादवले वर्तमान गठित समितिले सत्यतथ्य बाहिर ल्याउन नसक्ने भन्दै घटनाको न्यायिक छानविन गर्न माग गरेका छन्।
अध्यक्ष यादवले कुटपिटको घटना छानविनका लागि स्वतन्त्र उच्चस्तरीय संसदीय न्यायिक छानविन समिति गठन गर्नुपर्ने बताए। शिक्षक संघले घटना हुने कारण समेत पत्ता लगाउन माग गरेको छ। गैरसरकारी संस्था छनौट गरी प्रदेशभर खर्च हुन गइरहेको ८ करोड रुपैयाँमा चलखेल भइरहेको विषयमा पनि छानविन हुनुपर्ने अध्यक्ष यादवको भनाइ छ।
गरिबी निवारण कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमका लागि मन्त्री यादवले भनेको एनजिओ नपरेपछि झोक्किएर आफूलाई कुटपिट गरेको सचिव झाको आरोप छ। गत आइतबार उद्योग, वन, पर्यटन तथा वातावण मन्त्रालयका सचिव झाले आफूलाई सभामुख र प्रदेशसभा सदस्यकै अगाडि कुटपिट गरेको दाबी गरेका थिए।
कुटपिट घटना छानविनका लागि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ। समितिमा मन्त्रायलका सचिव दीपक सुवेदी र मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाल रहेका सदस्य छन्।