प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा देखिएको विवाद उत्कर्षमा पुगेको छ।
प्रदेश सरकारले नामाकरण र स्थायी राजधानीको विवाद टुङ्गयाउन नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको अध्यक्षतामा सुझाव संकलन आयोग गठन गरेको छ। आयोगले प्रदेशको आठवटै जिल्लामा सुझाव संकलन गर्दै आएको छ।
यसै क्रममा शुुक्रबार जनकपुरमा प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलनका लागि आयोजित कार्यक्रममा मधेस आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका युवाहरुले कार्यक्रम बहिष्कार गरेका छन्।
प्रदेश सरकारद्वारा गठित प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलन आयोगको कार्यक्रम होटेलको एउटा बन्द कोठामा गरेको भन्दै जनकपुरधामका केही युवाहरुले आक्रोशित भएर कार्यक्रम बहिष्कार गरेका हुन्। कार्यक्रम सुरु भएको केही समय नबित्दै युवाहरुको एक समूहले हो–हल्ला गरेका थिए।
मधेस आन्दोलनको स्वतन्त्र समूहबाट नेतृत्व गरेका युवाहरु सुशिल कर्ण र सरोज मिश्र समूहका युवाहरुले कार्यक्रम स्थलमा आएर खुल्ला स्थानमा कार्यक्रम गर्नुपर्ने धारणा राखेका थिए। उनीहरुले प्रदेशको राजधानी, नाम तथा भाषा प्रदेशसभाबाट दुई तिहाइको बहुमतबाट पारित हुने विषय भएपनि जिल्ला जिल्लामा जनतामाझ गएर सुझाव संकलन गर्नुभन्दा बन्द कोठामा कार्यक्रम गरेको आरोप लगाएका थिए।