प्रधानमन्त्री केपी ओलीले देशको सम्पत्ती अनुचित ढंगले बाहिर लैजाने र गैरकानुनी ढंगले लगानी गर्ने विषयमा छानबिन गर्ने बताएका छन् । खोज पत्रकारिता केन्द्रको ‘नेपाल लिक्स’ ले सार्वजनिक गरेको विषयमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् ।
उनले भने, ‘देशको सम्पत्ती गैरकानुनी ढंगले कानुनविपरित कतै लगानी गर्ने कुराहरु उपयुक्त हुन सक्दैनन्, यसप्रति सरकार सजग छ, बाँकी छानबिन गरेपछि नै सत्यतत्थ्य भन्न सकिन्छ।’
उनले सार्वजनिक सन्चारमाध्यमका आएका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै यसमा छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाउने प्रयास हुने बताए ।
प्रधानमन्त्री ओलीले सन्चारमाध्यममा आएका कुरा अनुमानका आधारमा असत्य भन्न नसकिने र उपयुक्त माध्यम र विधिबाट सरकारले ती कुराको आवश्यक खोजतलास, छानबिन गर्ने बताए । नेपाललिक्सले सार्वजनिक गरेको गैरकानुनी रुपमा आर्जित ठूलो रकम वैदेशिक लगानीका रुपमा नेपाल भित्रने गरेको समाचारका विषयमा नेकपाका सांसद खगराज अधिकारी, कांग्रेसका दिलेन्द्र बडुले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए ।