राष्ट्रिय प्रजातन्त्र पार्टीले सशस्त्र प्रहरी बल अन्तर्गतका निकायमा ऐतिहासिक स्थल तथा देवी देवताको नाममा स्थापना गरिएका गण तथा गुल्मको गोप्य ढंगबाट नाम परिवर्तन गरि नयाँ नामाकरण गरिनुलाई राप्रपाले दुःखद र दुर्भाग्यपूर्ण भनेको छ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो कदमलाई राप्रपाले पूर्वाग्रहपूर्ण र संकीर्ण मानसिकताको उपज भनेको छ। सशस्त्र प्रहरी बलमा प्रचलित नामको परिवर्तनले कालान्तरमा सामाजिक, सांस्कृतिक सद्भावमा असर पार्ने, राष्ट्रिय एकतामा खलल पु¥याउने र संवेदनशील सुरक्षा निकायमा मतभेद उत्पन्न हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी अबिलम्ब निर्णय तत्काल फिर्ता लिन उसले सरकारसंग माग गरेको छ।
यसैगरी,विदेशमा लुकाइएका अवैध धनबारे नेपाल सरकार र सम्बद्ध निकायले तत्काल छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न र शंकास्पद व्यक्ति वा संस्थाको बैंक खाता तत्काल रोक्का गर्न माग गरेको छ। त्यस्तो अवैध सम्पत्ति जफत गरी कानुन विपरीतका कार्यमा संलग्न अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको छ।
साथै, बैठकले हिन्दुराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान अन्तर्गत माघ ७ र ८ गतेका लागि तय गरिएको देशव्यापी घरदैलो कार्यक्रम तथा माघ १३, १४ र १५ गते सवै नगरपालिका र गाउँपालिकामा हुने हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण सभामा सहभागी हुन पार्टीका सवै तहका सदस्यलाई निर्देशन दिएको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी प्रस बिज्ञप्तिमा उल्लेख छ।