नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक संकटमा परेका बेला जोगाउने जिम्मा कांग्रेसको भएकाले अब त्यो अवस्था आएकाले तयार रहन कार्यकर्तासँग आग्रह गरेका छन् । कांग्रेस स्याङ्जाले शुक्रबार स्याङ्जामा गरेको स्वतन्त्रता सेनानी शिवकुमार अधिकारीको श्रद्धाञ्जली कार्यक्रममा सभापति देउवाले भने,‘देश खतरामा पुगिसकेको छ, यस अघिका संकटमा कांग्रेसले देश जोगाएकाले अबकाग्रेस अगाडि बढ्नुपर्छ ।
नेकपाको २ तिहाइ सरकारले लोकतन्त्रको मर्यादा विपरीत सर्वसत्तावादी शासन लाद्ने दुश्प्रयास गरेको सभापति देउवाको आरोप थियो । बाम सरकारको विरुद्धमा सघर्षमा उत्रनुपर्ने अवस्था आएको बताउँदै देउवाले भने, ‘सघर्षको सुरु स्याङ्जाबाट गर्नुपर्दछ ।’बिपीले स्याङ्जालाई काग्रेसीहरुको जिल्ला भनेको स्मरण गर्दै मुलुकलाई संकटबाट उतार्न यहींबाट संखघोष थाल्न आग्रह गरे ।
गएको निर्वाचनमा कांग्रेस १ नहुदाँ हार ब्यहोरेको बताउँदै सभापति देउवाले पार्टीमा अझैपनि एकताको खाँचो रहेकोमा जोड दिए । पार्टी जुटेर १ ढिक्का भएमा आउने निर्वाचनमा कांग्रेसको विकल्प नभएको भन्दै देउवाले विगतमा योगदान गरेकाहरुले कहिल्यै पनि पार्टीले नभुल्ने बताए ।
लोकतन्त्रका लागि शिवकुमार अधिकारीले दिएको योगदान अनुकरणीय रहेको भन्दै सभापति देउवाले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न स्याङ्जाली कांग्रेसजनलाई आग्रह गरे ।
कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले शिवकुमार अधिकारीले कहिल्यै पनि पदका लागि मरिहत्ते नगरेको स्मरण गर्दै अहिले आएर उनको आवश्यकता खड्केको बताए । वामपन्थी शक्ति जुटेको र कांग्रेसमा एकता नभएकाले चुनाव हारेको स्मरण गर्दै उनले एउटा चुनाव हार्दैमा चिन्ता नलिन कार्यकर्तासँग आग्रह गरे ।
वामपन्थी सरकार आएको १ वर्ष भएको भइनसक्दै मुलुकमा भ्रष्टाचार, अनियमितता चुलिएको भन्दै अधिनायकवाद लादिएको उनको आरोप लगाए । केपी शर्मा ओली नेतृत्वको २ तिहाइ सरकारले शन्ति सुरक्षा र महंगी कमी गर्न नसकेको आरोप लगाउँदै श्रेष्ठले भने,‘अब नेपाली कांग्रेस सडकमा जानुपर्ने अवस्था छ ।’
कार्यक्रममा केन्द्रीय सदस्इ धनराज गुरुङ, प्रदीप पौडेल, पूर्वमन्त्री यज्ञबहादुर थापा, पूर्व सांसद खगेन्द्रराज रेग्मी, पूर्व सभासद राजु थापा, प्रदेश सभा सदस्य बिन्दु थापा, महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, अधिकारीका छोरा सुवोध अधिकारी, भाइ विश्वप्रेम अधिकारी, प्रजातन्त्र सेनानी मेघबहादुर खड्का लगायतले स्व. अधिकारीको व्यक्तित्वबारे चर्चा गरेका थिए । ब्रेन ट्युमरका बिरामी अधिकारीको पुस १० गते निधन भएको थियो । लामो समयसम्म कांग्रेसमा क्रियाशील अधिकारी जिल्ला विकास समिति स्याङ्जाको पहिलो सभापति हुन् ।