प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्यान्ड जाँदैछन्।
प्रधानमन्त्री ओली आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्ने र माघ १२ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ। विश्व आर्थिक मञ्चको वार्षिक बैठक जनवरी २२ देखि २५ सम्म डावोसमा हुनेछ।
प्रधानमन्त्री ओलीले उक्त बैठकका दुई वटा सत्रलाई सम्बोधन गर्नेछन्। सातदिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्वीस राष्ट्रपति वेली माउरासँग पनि भेटवार्ता गर्ने तयारी छ।
प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित १९ जना रहने छन्।
स्वीट्जरल्यान्डमा हुने विश्व आर्थिक बैठकमा नेपालको सहभागिताले लगानी प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ ।