नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्हा मन्सुरले निर्वाचनमा कांग्रेस पराजित भए पनि बिचार र आर्दशको जित भएकोले निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस स्याङ्जामा आइतवार आयोजित अन्तरक्रिया एवं मुस्लिम समुदायसंगको भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री मन्सुरले पार्टी सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिए। फरक बिचार भएका शक्तिहरुलाई एकै ठाउँमा ल्याउन सक्नु कांग्रेसको सफलता भएको मन्सुरको भनाई थियो।
मुस्लिम संघ नेपालका अध्यक्ष अब्दुल सत्तारले आफनो धर्म र संस्कार जोगाउनका लागि मुस्लिम समुदायलाई कांग्रेसको बिचार र आदर्शमा समाहित हुन आग्रह गरे। उनले कुरान मान्ने मुस्लिम सुमदाय लोकतान्त्रिक बिचारबाट टाढा रहन नसक्ने बताए। नेपालको लोकतान्त्रिक आन्दोलनमा मुस्लिम समुदायको योगदानको चर्चा गर्दै अध्यक्ष सत्तारले पार्टीले त्यसको सही मूल्यांकन गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा मुस्लिम संघका उपाध्यक्ष डा. हाजी अताबुल र महासचिव हाजी मुख्तार, कांग्रेस जिल्ला कार्यवाहक सभापति कुमार राना लगायतले धर्म, संस्कृति र संस्कारको संरक्षणका लागि मुस्लिम समुदाय नेपाली कांग्रेसमा आबद्ध हुनुपर्ने बताएका थिए।