प्रदेश ३ को नाम नेवा–ताम्सालिङ राखिनुपर्ने भन्दै मुख्यमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ। नेपाल आदिवासी जनजाति महासंघ ३ नं प्रदेश समितिले नेवा–ताम्सालिङको माग गर्दै मुख्यमन्त्री डोरमणि पौडेल समक्ष बुधवार ज्ञापन पत्र पेस गरेको हो ।
ज्ञापन पत्रमा प्रदेशस्तरीय आदिवासी जनजाति परिषद तत्कालै गठन हुनुपर्ने माग गरिएको छ भने प्रदेश अन्तर्गत बसोबास गर्ने जनजातिहरुको चाडपर्वमा बिदा घोषणा हुनुपर्ने लगायत माग गरिएको छ ।
महासंघको ३ नं प्रदेश संयोजक काजीमान थिङको नेतृत्वमा रहेको जनजाति नेताहरुले मुख्यमन्त्रीसमक्ष ज्ञापन पेस गरेका हुन् । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले सुझावका लागि धन्यवाद दिएको बताइएको छ । ३ नं प्रदेशमा राजधानी हेटौँडामै रहने कि नरहने भन्ने बिषय विवादमा छ भने नाम राख्ने बिषय पनि बहसको बिषय बनेको छ ।
साउनको अन्तिम सातादेखि संसद सुचारु हुने बताइएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद अबरुद्ध गरेपछि लामो समयदेखि संसद चल्न सकेको छैन ।