दशैंअघि १ लाख १७ हजार नेपालीले राष्ट्रिय परिचयपत्र पाउने भएका छन्।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यबस्थापन केन्द्रका कार्यकारी निर्देशक दीपक काफ्लेका अनुसार सिंहदरबारभित्र कार्यरत ७ हजार कर्मचारी र पाँचथरका १ लाख १० हजार नागरिकलाई पहिलो चरणमा परिचयपत्र दिइनेछ।
नमूनाका रुपमा पाँचथरमा गत वर्षदेखि परिचयपत्र वितरणको काममा केन्द्रले काम गर्दै आएको छ। परिचयपत्र तयारीको अन्तिम क्रममा रहेको भन्दै काफ्लेले दशैंअघि नै परिचयपत्र बितरण गरिसक्ने उल्लेख गरे।
यसैगरी दोस्रो चरणमा १५ जिल्लाका ३५ लाख २३ हजार ९८ जनालाई परिचयपत्र दिन केन्द्रले तयारी थालेको छ। कार्यकारी निर्देशक काफ्लेका अनुसार दोस्रो चरणमा प्रदेश १ को झापा र सप्तरी, २ को सप्तरी र महोत्तरी, ३ को ललितपुर, चितवन र रसुवा, ४ को तनहुँ र स्याङ्जा, ५ को कपिलवस्तु र गुल्मी, ६ को सल्यान र जुम्ला तथा ७ को कंचनपुर र अछाममा बितरण गरिने छ।
१६ बर्ष उमेर पुगेका नागरिकलाई यस्तो परिचपत्रपत्र बितरण गरिनेछ । हरेक नागरिकलाई १० अंकको परिचय नम्बरसहित परिचयपत्र दिइेनछ। हरेक नागरिकका सुचना केन्द्रीय भण्डारमा रहने भएपछि सुरक्षा लगायतका हिसाबले यसको महत्व हुने कार्यकारी निर्देशक काफ्लेले बताए।
उनका अनुसार राज्यका सबै सेवा, सुबिधालाई यो परिचयपत्रमा लिंक गरिनेछ । राष्ट्रिय परिचय पत्रसम्बन्धी ऐनको गृहकार्यमा केन्द्र जुटेको छ।