नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकार मुलुककै लागि अन्तिम कम्युनिष्ट सरकार रहेको बताएका छन् ।अहिलेको कम्युनिष्ट सरकार डाईनोसर भन्दा पनि अजंगको भएको बताउँदै उनले अब कम्युनिष्ट सरकार पनि डाईनोसर जस्तैगरी लोप भएर जाने दावी गरे।
बुटवल जेसीजको सोमबार बुटवलमा सम्पन्न ४५ औं पदस्थापन समारोहलाई सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै बिधि र प्रकृया मिच्दै आएको उल्लेख गर्दै सदनमा पनि दुई तिहाईको दम्भ देखाउनु दुर्भाग्य रहेको बताए । प्रधानमन्त्री हुनकालागि संसदको सदस्य अनिवार्य हुनुपर्ने संवैधानिक व्यबस्था भएपनि संसद सदस्यको रुपमा सपथ नलिँदै प्रधानमन्त्रीको सपथ लिएर संवैधानिक व्यबस्था कुल्चने काम गरेर बिधि र प्रकृया मिच्न सुरुवात गरेको उहाँले आरोप लगाए ।
उनले प्रधानमन्त्री ओलीमा हिटलर प्रबृत्ति हावी हुँदै गएको बताउँदै आफूले भनेभन्दा फरक बाटोमा हिँड्नेलाई सिध्याउने काममा लागेको समेत आरोप लगाए । त्यस्तै उनले सभामुखको भूमिका पार्टी निर्णय अनुसार काम गर्ने नभएको पनि स्मरण गराए । उनले १ हजार ५ सयको हाराहारीमा रहेको नेप्से परिसूचक झरेर १ हजार २ सय भन्दा पनि कम भएको बताउँदै अहिले मुलुकमा लगानी गर्ने वातावरण छैन भन्ने पुष्टि भएको उल्लेख गरे ।
नेपालको राजनीतिक इतिहासमा समृद्धिको सपना साकार पार्ने ठूलो अवसर प्राप्त गरेपनि दुई तिहाईको स्थायी सरकारले उत्पादनकालागि लगानी आकर्षण गर्न समेत नसकेको पनि बताए । बुटवल जेसीजमा निर्वाचित सन् २०१९ को कार्यसमितिलाई पदस्थापन कार्यक्रममा बोल्दै नेपाल जेसीजका निवर्तमान अध्यक्ष श्रीधर बस्यालले सरकारले दुई तिहाईको बलमा लोकतन्त्रको उपहास गरेको आरोप लगाए ।त्यस अवसरमा बुटवल जेसीजले स्थापना गरेको ‘स्वर्गीय गणेशमान सैंजु स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारीलाई सम्मान गरिएको थियो ।