नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले आफ्ना कामहरुलाई सुधारेर अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार मकवानपुरको हेटौँडामा न्युज क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले कतिपय कामका कारण सरकार आलोचित भएको भएपनि सुधार गरेर अघि बढ्दा समस्या हल हुने बताए।
उनले नेपाल कम्युनिष्ट पार्टीका सबै संरचनाहरुको एकता नटुंगिएका कारण केही निराशा पैदा भएपनि अब छिट्टै एकीकृत पार्टीले स्वरुप धारणा गर्ने बताए। उनले कुनै पनि नेताको खल्तीबाट निकालिएको नामलाई नेतृत्वको रुपमा स्वीकार नगरिने बताए। उनले त्यस्तो प्रवृृत्ति रहेसम्म पार्टी राम्रो नहुने बताए।
सरकारविरुद्ध प्रतिपक्षी कांग्रेसले गरेको आन्दोलनप्रति नेता नेपालले हार खाएपछि कांग्रेसमा ‘फ्रस्टेसन’ बढेको आरोप लगाए। आन्दोलन गर्नुको कुनै तुक नभएको भन्दै उनले भ्रष्टाचार गर्दा चैँ चुप बस्ने अरुको सानो गल्ती खोज्दै हिँड्ने कांग्रेसको प्रवृत्ति ठीक नभएको बताए।