भेनेजुएला प्रकरणमा अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ हो, यसले नेपाल–अमेरिका सम्बन्धमा असर पर्नु हुँदैन। –प्रधानमन्त्री केपी ओली, माघ २३
भेनेजुएला प्रकरणमा जारी विज्ञप्तिमा म अडिग छु, कतै पनि नचिप्लिएको छैन। –पुष्पकमल दाहाल, माघ २४
‘माओवादी सिध्याइयो नभन्ठानौँ, अर्को जन्मन्छ र झन् ठूलो द्वन्द्व हुने खतरा आउँछ।’ –पुष्पकमल दाहाल, २५ माघ
भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद छताछुल्ल भएको छ।
१० वर्षे युद्धको निशाना मेटेर पार्टी एकीकरण गराएका दाहालले एकीकरणको सम्पूर्ण प्रकृया पूरा नहुँदै प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै माओवादी सिध्याइयो भनेर नठानौं, अर्को जन्मन्छ र झन् ठूलो द्वन्द्व हुने खतरा आउँने बताए।
प्रचण्डको यस्तो चेतावनीपछि प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई बोलाएर मतभेदबारे गत शनिबार तीन घण्टा लामो छलफल गरेका छन्। नेकपाका नेताहरुको भनाईमा यो छलफल शीर्ष दुई नेताबीचको मतभेद कम गराउँनका लागि भएको हो। उनीहरुको भनाईमा यसबाट दुई नेताबीचको असमझदारी कम भएको छ।
प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट बनेका नेकपाका अध्यक्ष दाहाललाई ओलीबिरुद्ध बोल्नका लागि पछिल्लो समय भेनेजुएला प्रकरणले थप बल मिलेको नेकपाका कतिपय नेताहरुको बुझाई छ। प्रधानमन्त्रीका रुपमा ओलीले सरकार चलाउने र अध्यक्षका हैसियतमा दाहालले पार्टी हाँक्ने सहमति विपरित पार्टीमा समेत ओली हावी भएपछि दाहाल असन्तुष्ट बनेका हुन्।
सरकारका महत्वपूर्ण कतिपय निर्णयमा प्रधानमन्त्री ओलीले आफूसंगको सल्लाहबिना एकलौटी निर्णय गरेको दाहालले निकटजनहरुसँग बेलाबेलामा भन्ने गरेका छन्। कतिपय निकटहरुसँग दाहालले भन्ने गरेका छन्,‘ होइन, ओलीजीले त हामीलाई माइनस नै गर्न खोज्जु भयो त।’