नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकास निर्माणका काममा दलीय राजनीतिको गन्ध मिसाउन नहुने बताएका छन्।
जनसंवाद यात्राका क्रममा लमजुङको सुन्दरबजार आइपुगेका संयोजक भट्टराईले मध्य पहाडी लोकमार्गको विवादमा राष्ट्रिय सहमति खोज्नु पर्ने बताए।
राष्ट्रिय गौरवको आयोजना दैलोमा आउँदा विरोध नगरी अगाडी बढाउनु पर्ने र तत्काल चार लेन सम्भव नभएका स्थानमा दुई लेनको सडक बनाउन जोड दिए। मध्यपहाडी लोकमार्ग समृद्धिको मेरुदण्ड रहेकाले विवाद भन्दा पनि मिलेर जानु नै उपयुक्त हुने उनको तर्क छ।
तर, गण्डकी प्रदेश सरकारले माघ महिनाभित्र सहमति नजुटे डोजर चल्नेसम्मको चेतावनी दिएपनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढाएको छैन। लमजुङमा मापदण्ड अनुसारको निर्माण भए बजारलाई अप्ठ्यारो हुने भन्दै स्थानीयले लगातार विरोध गरेपछि लमजुङमा लोकमार्गको ८ किलोमिटर क्षेत्रको काम अघि बढ्न सकेको छैन।