प्रदेश २ सरकारले एक वर्ष भित्र गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रदेश सरकारको प्रथम स्थापना दिवस तथा वार्षिक प्रगति सार्वजनिकिकरण कार्यक्रममा आज मुख्यमन्त्री लालबाबु राउतले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले सरकार गठन पश्चात प्रदेश सरकारले संवधिान र संघीयता कार्यान्वयनमा अथक प्रयाश गरेको दावी गरे । उनले विभिन्न कठिनाईका बाबजुद सिमित श्रोत र साधनको परिचालन गरी यस प्रदेशका जनताको आकाँक्षा अनुसार काम गरिरहेको बताए । प्रदेश सरकारको आधारभूत कार्य संघीयतालाई संस्थागत गर्नु तथा संघ र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने रहेको भन्दै उनले संघीयतालाई प्रभावकारी बनाउन आधारभूत कानून निर्माणमा प्रदेश सरकारले ऐतिहासिक कार्य गरेको दावी गरे ।
प्रदेशबासीको सामाजिक अवस्था, मानव विकास सूचकांक र मधेशी समाजमा विद्यमान विभेदको अवस्था लगायत सबै पक्षहरुलाई सम्बोधन गर्न प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान र ‘पिछडिएका वर्गको उत्थान’ कार्यक्रम प्रारम्भ गरेको उल्लेख गरे। यस कार्यक्रम अन्तर्गत २०७५ माघ १ पछि जन्मिएका बालिकाको लागि छोरी शैक्षिक बिमा फागुनको पहिलो हप्तावाट औपचारिक शुभारम्भ गरिने मुख्यमन्त्री राउतको भनाइ थियो ।
त्यस्तै पिछडिएका वर्गको उत्थान कार्यक्रम अन्तर्गत प्रदेश सरकारले दलित शशक्तिकरण विधेयक संसदमा पेश गरिसकेको उनले बताए । हालकालागि ‘दलित छात्रवृत्ति योजना’ अन्तर्गत अध्ययन निरन्तरतका लागि तीन जनालाई जनही रु. तीन लाख पचास हजारका दरले आर्थिक सहयोगप्रदान गरिएको र योजना अन्र्गत अन्य दलितलाई पनि छात्रवृति दिने तयारी रहेकोे उनले जनाए । प्रदेश प्रहरीसहित अन्य सेवामा महिलालाई ५० प्रतिशत आरक्षण सहित दलित, मुस्लिम, जनजातीलाई उनीहरुको जनसंख्याका आधारमा आरक्षण कानूनी रुपमा सुनिश्चित गरिएको उनको भनाइ थियो ।
मधेश आन्दोलनका घाइतेहरुको सम्मानका लागि घाईते सम्मान सन्दर्भमा निर्देशिका पारित भई घाइतेको अवस्थाको वर्गिकरण गरी सहयोग राशी उपलब्ध गराउने क्रम जारी रहेको मुख्यमन्त्री राउतले बताए ।
प्रदेश नम्बर २ भौगोलिक हिसाबले देशको सबैभन्दा सानो क्षेत्रफल भएको प्रदेश भएपनि कृषि अर्थतन्त्रको अवस्था, उत्पादनको अवस्था, सडक र अन्य भौतिक पूर्वाधारको स्थिति, उद्योग र कलकारखानाबाट हुने उत्पादनको स्थिति सन्तोषजन नरहेको भन्दै उनले यी सबै क्षेत्रमा तत्काल गर्नुपर्ने काम र दीर्घकालीन महत्वको कामलाई प्रदेश सरकारले प्राथमिकतासाथ अगाडी बढाईरहेको बताए ।
प्रदेश सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे भ्रमणलाई ऐतिहासिक सफलताकोे रुपमा व्यख्या गरेको छ । यस्तै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणबाट यस क्षेत्रको गरिमा बढ्नुको साथै पर्यटन ब्यबसायमा बढोत्तरी भएको सरकारद्धारा जारी प्रगति विवरणमा उल्लेख छ ।
आर्थिक अनुशासनलाई प्रभावकारी बनाउन प्रदेश सरकारले जेठ मसान्त पछि विकास योजनाहरुमा भुक्तानी नहुने नीति ल्याएको र यसको सफल कार्यान्वय गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको प्रगति विवरणमा उल्लेख छ ।
लामो सशस्त्र संघर्ष, जनआन्दोलन, मधेश विद्रोह र शहीदहरुको बलिदान प्रति प्रदेश सरकार अभार र संवेदनशील रहेको भन्दै लोकतान्त्रिक संघीय गणतन्त्रलाई जनताले अनुभूत गर्ने तहमा सार्थक बनाउन प्रदेश सरकार दृढ र कटिबद्ध रहेको सरकारद्धारा जारी प्रगती विवरणमा भनिएको छ ।