नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले दुइ तिहाई बहुमतको दम्भमा सरकारले न्यायपालिकामाथि कब्जा गर्न खोजेको आरोप लगाएका छन्। उनले मुलुकमा बढ्दै गएको हत्या, हिंसा बलात्कार जस्ता जघन्य अपराधिक घटना नियन्त्रण गर्न नसक्ने ओली सरकारले डर, धमक्याए देशका सबै अदालतहरुमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका हुन्।
आज नेपाली काँग्रेस नगर सम्मेलनलाई जनकपुरमा सम्बोधन गर्दै निधिले निर्मला पन्तको हत्यारा पत्ता लाग्न १२ वर्षसम्म लाग्न सक्ने भन्नु असफल सरकारको सबैभन्दा ठूलो प्रमाण रहेको दावी गरे।
‘संघीयता सुदृढ गर्न प्रदेश सरकारलाई संविधान अनुरुप सबै हक, अधिकार दिनु संघीय सरकारको पहिलो राजनीतिक कर्तव्य हो। पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिले भने, ‘तर केन्द्रिकृत मानसिक्ता भएको वर्तमान सरकारले सबै अधिकार सिंहदरवारमै राख्नु संघीयता नरुचाउनु र संविधानको विरोधमा उभेको स्पष्ट हुन्छ।’
उनले ७ वटामध्ये ६ वटा प्रदेशमा कम्युनिष्ट सरकार रहेको भन्दै आफ्नै सरकारमाथि समेत विश्वास नगर्ने कम्युनिष्ट सरकारको प्रवृति रहेको बताए। विदेश नीतिमा समेत ओली सरकार असफल भएको जिकिर गर्दै उनले सरकारको गलत विदेश नीतिका कारण छिमेकी मुलुक भारत र चीन लगायत अन्य देशसँग सम्बन्ध बिग्रेकाले विदेशी लगानीकर्ताहरु नेपालमा लगानीगर्न नचाहेको उल्लेख गरे।
रोजगार सिर्जना गर्न नसकेपछि कार्यकर्ता भर्ती गर्न ओली सरकारले बेरोजगार भत्ता कार्यक्रम ल्याएको भन्दै उनले ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारा झूठो र असफल ठहर भएको बताए। राजनीतिक रुपमा संविधान र संघीयतालाई खुकुलो बनाउन खोजेको सरकारले मंहगी, बेरोजगारी र अपराध बाहेक सरकारले केही दिन नसकेकोप्रति निधिले चिन्ता व्यक्त गरे।
मधेसवादको नाउमा चुनाव जितेका मधेसवादी दलले समेत सत्तामा बसेर मधेसीहरुको अपमान गरेको उनको भनाइ छ। नेता निधिले संविधान संशोधनको मुद्दा लिएर सरकारमा बसेको मधेसवादी दलले सत्ता मोहमा संविधान संशोधनको मुद्दा बिर्सेको बताए । प्रदेश २ को नाम मिथिला भोजपुरा र कामकाजको भाषा मैथिली हुनुपर्ने बताउँदै अन्य नाम र भाषा राख्न खोजे काँग्रेसले आन्दोलनको आँधीबेरी ल्याउने उनले चेतावनी समेत दिए।
वीरगंज स्थित विपी उद्यानको नाउमा रहेको जग्गामा प्रदेश सरकारले सहीद पार्कको शिलान्यास गरेकोप्रति आपत्ति जनाउँदै उनले प्रदेश सरकारले तत्काल आफ्नो निर्णय फिर्ता नलिए आन्दोलनकालागि तयार भएर बस्न कार्यकर्ताहरुलाई सुझाव दिए। निधिले स्थानीय, प्रदेश र केन्द्र गरी तीन वटै तहको सरकारलाई काम गरेर देखाउन १ वर्षको समय दिएको बताउँदै उनलाई काँग्रेस एक वर्ष चुप लागेर बस्दैमा काँग्रेसलाई कमजोर नठान्न उनले सचेत गराए।
कार्यक्रममा पुर्व खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादव, पुर्व कृषिमन्त्री रामकृष्ण यादव, आन्नद ढुंगाना, प्रदेश संसदीय दलका नेता रामसरोज यादले आ–आफ्नो मन्तव्य राखेका थिए।