आज ६९ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएकाे छ।
एक सय चार वर्षे जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य बनाएर प्रजातन्त्र स्थापना भएकाे थियाे। तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकाल सुरू भएको हाे।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले १९९७ साल माघमा बलिदानी दिएका थिए। प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो।
२००० सालपछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो।
प्रजातन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिँदै छ। विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र विशिष्ट अतिथिका रूपमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनेछन्।
त्यस्तैं, शहीद दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त विशेष समारोहलाई सम्बोधन गर्ने छन्।