प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको चाहना पुरा हुने विन्दुमा आइपुगेको बताएका छन्।
६९औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीलले दशकौंदेखि भन्दै आएको कुरा अहिले पुरा हुने अवस्थामा रहेको उल्लेख गरेका छन्। वर्तमान सरकार समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाई छ।
‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासकाविरुद्ध केन्द्रित भएका छौं’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्,‘हामी आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौं।’
२००७ साल फागुनमा आजकै दिन जहाँनिया राणा शासनको अन्त्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तीको उक्त आन्दोलनमा शाहदत प्राप्त गर्ने सबैमा श्रद्धान्जली पनि व्यक्त गरेका छन्।