सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। जोशीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामार्फत मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन्।
प्रधानन्यायाधीश हुनासाथ जबराले न्यायाधीश जोशीलाई राजीनामा दिन सुझाएका थिए। संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका जाेशी ओमप्रकाश मिश्रको प्रधानन्यायाधीश भएपछि पनि अदालतमा हाजिर भएर काम गरेका थिए। सर्वोच्चमा न्यायाधीशका रुपमा हाजिर भएपछि त्यतिबेला मिश्रले जोशीलाई इजलाश पनि दिएका थिए।
तर, मिश्रले अनिवार्य अवकाश लिएपछि प्रधानन्यायाधीश बनेका जबराले भने सुरूमै राजीनामा दिएर बाटो खुला गरिदिन भनेका थिए। जबराले इजलाश नदिने घोषणा गरेपछि न्यायाधीश जोशी विदामा बसेका थिए। तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशीले सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हालेका थिए।
न्यायाधीश जोशीले राजीनामा नदिएको भन्दै सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) ले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको थियो। त्यसका लागि नेकपाका सांसदहरुले हस्ताक्षर संकलनसमेत सुरु गरेका थिए।