मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबीसहित संसदीय सुनुवाइ विशेष समितिमा उजुरी परेको छ।
विशेष समितिको आइतबारको बैठकले विभिन्न संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षविरुद्धका उजुरी खोल्ने क्रममा अन्सारीविरुद्ध चारवटा उजुरी परेको पाइएको छ। स्रोतका अनुसार अन्सारीको जन्म भारतमा भएको तर उनले नेपालमा नक्कली आमाबुवा बनाएर काठमाडौंबाट नागरिकता लिएको उजुरीमा दाबी गरिएको छ।
भारतको विहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको पहाडपुर थानाग्राममा अन्सारीको जन्म भएको उजुरीकर्ताले उल्लेख गरेका छन्। यतिमात्र होइन,अन्सारीको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको दाबी गरिएको छ। दरसाबाट ९ कक्षामात्र उत्तीर्ण गरेका अन्सारीले भारतको बिहारस्थित मगध विश्वविद्यालयबाट स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र लिएको उजुरीमा दाबी छ।
अन्सारीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल उनको बिकल्पको खोजीमा लागेको बताइएको छ। गम्भीर उजुरी परेका व्यक्तिलाई नियुक्ति गर्दा भोलिका दिनमा अप्ठेरो पर्न सक्ने भएकोले अन्सारीको नाम अघि नबढाउन कतिपय नेताहरुले अध्यक्षद्धयलाई भेटेर सल्लाह दिएका छन्।