राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।
राप्रपा अध्यक्ष कमल थापा नेतृत्वको टोलीले मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउँदै संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गर्नुपर्ने तथा पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको हो।
राप्रपाले संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह पनि माग गरेको छ। २२ बुँदे ज्ञापन पत्र बुझाउँदै राप्रपाले सर्वोच्च अदालतको आदेश अनुरुप एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकर लगायत सबै कर असुली गर्न तथा करछली प्रकरणमा संलग्न सबैलाई कानुन बमोजिम कारवाही गर्न माग गरेको छ भने ३८ क्वीन्टल तथा ३३ किलो सुन तस्करीको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले सरकार जनजीविकाका मुद्धामा गम्भीर रहेको बताए। भ्रष्टाचारमुक्त समाज निर्माणका लागि भ्रष्टाचारीहरुलाई कारवाहीको दायरा ल्याउने उनले बताए। राप्रपा अध्यक्ष थापाले विदेशमा लुकाएर राखिएका कालोधन देशभित्र ल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिहरुको बैंक खाता तत्काल रोक्का गरी कारवाही गर्न माग गरे।
मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने, वाइडबडी जहाज प्रकरण छानविन हुनुपर्ने लगायतका माग पनि उनले गरे। राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस, फागुन ७ गते त्रिभुवन जयन्ती र प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक विदा दिनुपर्ने माग पनि गरेको छ।