२०२९ सालतिरको कुरा हो। हामी नख्खु जेलमा थियौं। पहिलेसँगै जेल परेपनि उहाँ हामीभन्दा अघि छुट्नु भयो। त्यतिखेर उहाँले भनेका कुरा अझै याद आइरहन्छ।
हामी जेलमा रहँदा विपी एकदिन भेट्न आउनु भएको थियो । त्यतिखेर उहाँ साह्रै दुुब्लो देखिनुभएको थियो। पछि सशस्त्र क्रान्तिका बेला उहाँ बनारसमा हुनुहुन्थ्यो। म भेट्न जाँदा एकदमै फुर्तिलो भएको देखें।
विपीलाई भनें, ‘तपाई त योङ (तन्नेरी) हुनुभएछ।’ उहाँले भन्नुभयो, ‘हेर यो लाइनको फरक हो। सुवर्णसम्शेरको प्यासिभ लाइन, मेरो एक्टिभ लाइन। सुवर्णजी मेरै समकालीन हुनुहुन्छ, उहाँलाई सबै डाक्टरसहितको सुविधा छ। तर पनि उहाँ कति कमजोर जस्तो भइसक्नु भा’छ। म अहिले पनि थ्री नट थ्री राइफल बोकेर डाँडामै उक्लिन सक्ने हिम्मत छ।’
‘म लडेर प्रजातन्त्र ल्याउँछु भन्ने, सूवर्णजी राजाले देलान् र प्रजातन्त्र पाउँला भन्ने, त्यसकारण एक्टिभ लाइनले मान्छेलाई ताजा, बलियो र फुर्तिलो बनाउँछ,’ यसो भन्नु हुन्थ्यो विपी। विपी आफूलाई परिस्थितिले आफूलाई साथ दिइरहेको छैन, अर्कोतिर गइराखेको छ भन्ने लाग्यो भने त्यसबाट जम्प गरेर नयाँ लाइन अख्तियार गर्न सक्नुहुन्थ्यो। सशस्त्र क्रान्तिको लाइन लिएर भारतमा बस्दाबस्दै एकाएक विपीले सोच्नु भयो–यसबाट पार लाग्दैन। झ्वाट्टै भन्नुभयो–राष्ट्रिय एकता र मेलमिलाप। भारतमा बसेर कुर्नभन्दा बरु राजासँगै समझदारी गरेर देशमा लोकतन्त्रको वातावरण ल्याउँछु।’ अनि उहाँ नेपाल फर्किदिनु भयो। अरु त्यो विषयमा सहमत थिएनन्।
विपीले कुनै पनि विषयमा असहमत भएकाहरूलाई तर्कको माध्यमबाट अथक प्रयास गरेर सहमत गराएरै छोड्नु हुन्थ्यो। आफूले भनिदियो अनि त्यसलाई छोडिदिने विपीको बानी थिएन। कतिपय नेताहरूको बानी थियो, भनिदियो अनि छोडिदियो। त्यसमा तर्क हुँदैन। विपीले आफूले भनेका कुरालाई सफल बनाएर कार्यान्वयन नै गराउनु हुन्थ्यो।
विपीले नेपालको राजनीतिमा ठूला–ठूला संकट झेल्नुभयो। र, ठूला ठूला संकटमा पनि उहाँले आफूलाई कसरी स्थापित गर्ने भनेर क्रियाशिल रहनु भयो। तर, पनि उहाँको जीवनभरि लोकतन्त्र पुनस्र्थापित हुन सकेन। नेपालको राष्ट्रिय–अन्तर्राष्ट्रिय स्थिति विपी अनुकूल भएन।
०००
विपीले जुन बाटो, उद्देश्य, विचार दिनु भयो। हामीले त्यसको प्राप्तिकै लागि प्रयास गरेका छौं। त्यो पुरा गर्ने प्रयत्न हामीले गरेका छौं। विपी, गणेशमान, सुवर्णसम्शेर, किसुनजी, गिरिजाबाबुले गर्न नसकेका काम हामीले पुरा गरेका छौं, संविधान निर्माण गरेर। जनताको प्रतिनिधिबाटै।
संसदीय लोकतन्त्रका लागि विपीहरू जीवनभर लाग्नु भयो। राइटिष्टदेखि लिएर लेफ्टिष्टसम्म, राजाबादीदेखि साम्यवादीसम्मलाई हस्ताक्षर गराउने कुराहरू हामीले गरायौं। प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई संविधानको प्रस्तावनामै लेख्न हामीले लगायौं। त्यसकारण हामीले विपीहरूले जे काम गर्न सक्नु भएको थिएन, त्यो काम हामीले गरेका छौं।
तर, अहिले आएर हामी विस्तारै असफल भएका छौं। अर्थात, संविधान पनि आयो, चुनाव पनि हामीले गरायौं तर, हामीले नै गराएको चुनावको परिणाम हाम्रो खिलाफमा गयो। त्योचाहिँ हाम्रो पुस्ताका लागि आघात हो। राजनीतिमा सफलता र असफलता हुन्छन्। असफलताका कारण पनि हुन्छन्। अब अहिले पार्टीको अहिले बेहाल छ, यसको कारण शेरबहादुरजीसँग मलाई जोडेर जो कुरा गरिन्छ योचाहिँ मलाई स्वीकार्य छैन।
किनभने मैले त्रुटी गरेको छैन। मैले नगरेको गल्ती सबै शेरबहादुरजीसँग जोड्ने? यो न्यायोचित ठान्दिनँ। हामीले गर्नेसम्म गरेका हौं। कतिपय मैले दिएका सुझाव मनन गरिएन, कार्यान्वयन भएनन्, जसले गर्दा पार्टी डिफेन्सिभमा पर्याे। त्यसैले हामीले अप्रिय र अवाञ्छित नतिजा हात पार्यौं।
-विपीकाे राजनीतिक लाइन र संघर्षबारे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलसँग गरिएकाे कुराकानीमा आधारित।