बेनी अस्पताल भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको पेश्की फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले काममा ढिलासुस्ती गरेपछि महादेव–खिम्ती–ज्वाला–रफीना जेभीको बैंक जमानतबाट असुल हुने गरी पेश्की फिर्ताका लागि प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले बेनी अस्पतालको पचास शैया क्षमताको भवन निर्माणको जिम्मा पाएको थियो ।
पेश्की लगे पनि कार्ययोजना र लक्ष्यअनुसार काम गर्न नसकेपछि ६६ लाख रुपैयाँ असुल गराउन जमानत बसेको बैंकलाई पत्राचार गरिएको कार्यालयका लेखा अधिकृत मीनबहादुर बानियाँले जानकारी दिए ।
विसं २०७३ मंसिर २१ गते १८ करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ‘निर्माण कम्पनीले अहिलेसम्म पाँच प्रतिशत पनि काम गरेको छैन,’ डिभिजन कार्यालयका इन्जिनियर गणेश महर्जनले भने ।
चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा २०७६ मंसिर २० गतेभित्र चारतले भवन निर्माण गर्ने सम्झौता भएको थियो ।
अठार महिनाको अवधिमा डिपिसी र पिल्लर ठड्याउने कामसमेत सकिएको छैन । गत फागुनदेखि कम्पनीका कर्मचारी सम्पर्कबिहीन छन् । ‘पटकपटक काम गर्न अनुरोध गरेपनि अटेर गरेकाले कारबाही प्रक्रिया अघि बढाएका हौँ,’ इन्जिनियर महर्जनले भने ।
भवन निर्माणमा ढिलाइ हुँदा सेवाप्रवाहमा असर परेको बेनी अस्पतालका प्रमुख वरिष्ठ चिकित्सक डा रोशन न्यौपानेले जानकारी दिए । चिकित्सक आवास भवन निर्माण भने अन्तिम चरणमा पुगेको छ ।
हाललाई अस्थायी भवन निर्माण गरी बिरामीलाई सेवा दिने व्यवस्था मिलाइएको छ । पन्ध्र शैयाको उक्त अस्पताललाई विस्तार गरी २०७२ सालमा पचास शैयामा स्तरोन्नति गरिएको हो ।