गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाले पारित गरेको ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । प्रदेश सभाले साउन २१ गते पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुवँरले बुधबार प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयक बुधबार नै प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले विधेयक पाउनेबित्तिकै विधेयकका ५ प्रतिमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका हुन् । नेपालको संविधान धारा २०१ को उपधारा ५ बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि विधेयक ऐन बन्छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी उपसचिव विश्वप्रकाश न्यौपानले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेको विधेयकमध्ये १ प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघीय कानुन तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति बुधबार नै पठाइएको छ ।