बालबिबाहका कारण समाजमा बिभिन्न खाले बिकृति बढेको भन्दै सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन् । तर यस्तो प्रतिबद्धता जनाउनेहरु नै कार्यक्रम सकिएपछि बालविवाहको भोजभतेरमा सहभागी हुने गरेको तीतो यथार्थ छ । त्यसो त बालबिबाह बिरुद्धको कानून पनि नभएको होइन । तर त्यसको पालना नहुँदा बालबिबाहका घटना रोकिएका छैनन्।
यहि यथार्थका बीच प्रदेश नम्बर १ का एसामाजिक विकासमन्त्री जीवन घिमिरेले ५ वर्षभित्र आफ्नो प्रदेशलाई बालविवाह मुक्त प्रदेश घोषणा गरिने प्रतिबद्धता जनाएका छन्। सामाजिक विकास मन्त्रालयको आयोजना विरानगरमा शुक्रबारदेखि शुरु भएको प्रदेशस्तरीय बालिका सम्मेलनमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
आजका बालिका नै भोलिको नयाँ नेपाल निर्माणको आधारस्तम्भ भएको भन्दै उनले बालविवाह न्युनिकरणका लागि १४ वटै जिल्लामा सद्भाबना दूत नियुक्त गरिने उल्लेख गरे। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले बालहिंसा, बालबालिका विभिन्न अवसरबाट बञ्चित हुने अवस्थाको अन्त्यका लागि सम्मेलन फलदायी हुने बताए। तीन दिनसम्म चल्ने सम्मेलनमा प्रदेश १ का १४ जिल्लाका १ सय ५० जनाको सहभागिता रहेको छ । सम्मेलनमा हरेक जिल्लाबाट १ जना किशोर र दुईजना किशोरी सहभागी छन्।