लाखौं रुपैयाँ खर्चेर विदेश जाने र भनेजस्तो कमाई गर्न नसकेपछि धेरै नेपालीहरु विदेशबाट घर फर्किँदा रित्तो हात फर्किने गरेका थुप्रै उदाहरण छन्। विदेशको बसाइ त्योमाथि ऋणकाे बाेझ। अर्काकाे ठाउँमा दिनरात घामपानी, भाेक, थकाइ केही नभनि काम गर्नु पर्ने बाध्यता। धेरै नेपालीहरु राम्रो कमाइ हुने आशमा विदेशिन्छन् र पछुताउँदै स्वदेश फर्किन्छन् दिनहुँ।
तर, स्वदेशमै बसेर पनि सानो लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् रुपन्देहीको कञ्चन गाउँपालिका–१ बेलभरीयाका गंगाधर शर्माले। सानो लगानीमा च्याउ खेती सुरु गरेका गंगाधरले घरमै बसेर मनग्गे आम्दानी गरिरहेका छन्।
०६८ सालबाट रुपन्देहीको कञ्चन गाउँपालिका–१ बेलभरीयामा स्पीञ्जर च्याउ फर्म सञ्चालन गरेका शर्माको च्याउ खेतीबाट आएको पहिलो आम्दानी १ लाख ४ हजार ४ सय रुपैयाँ मात्रै हो। उनले तापक्रम नियन्त्रण गर्नका लागि एक प्रविधि प्रयोग गरेको र त्यसको खर्च ७० हजार आएको बताए। उनले भने,‘प्लाष्टिक टनेलमा गरेको खर्च उठ्दैन। तर, यसको मद्दतले मात्रै उत्पादन गर्न सकिन्छ।’
उनले सुरुमा बिउका लागि २० हजार, पराल ८ हजार, प्लाष्टिक २८ सय, डोरी ७ सय र ड्रम खरिद गर्न दुई हजार गरी जम्मा ३४ हजार ४ सय खर्च गरेका थिए। च्याउ उत्पादक किसान संघका केन्द्रीय सदस्य तथा स्पीञ्जर च्याउ फर्मका सञ्चालक गंगाधर शर्मा नेपालमा चार प्रकारका च्याउ खेती हुने गरेको बताउँछन्।
उनी भन्छन्–‘प्रदेश ५ का सबै जिल्लामा च्याउ खेती गर्न सकिन्छ। कन्य, गोब्रे, सिताके र मिल्की (दुधे) च्याउको उत्पादन र बजार राम्रो छ।’ धेरे किसानहरु घरायसी प्रयोजनका लागि खेती गर्ने गरेको बताउँदै उनले भने,‘रुपन्देहीमा च्याउ खेती गर्नेको संख्या यकिन छैन। तर, १० वटा फर्मले व्यवसायिकरुपमै च्याउ खेती गर्छन्।’
कात्तिकदेखि माघसम्मको अवधि च्याउको सिजन हो। यो सिजनमा प्रदेश ५ मा एक दिनमा १० क्वीन्टलसम्म उत्पादन हुन्छ। तर, दैनिक माग ३५ क्वीन्टल छ। उनले भने,‘पहाडमा गोब्रे र सिताके च्याउ तथा कन्य र मिल्की तराईमा उत्पादन गर्न सकिन्छ।’ सिजनमा उत्पादन भएको यहाँको च्याउ पोखरा र काठमाडौंसम्म पुग्छ। तर, अन्य समयमा च्याउको अभाव प्रदेश ५ मा रहन्छ।
उनका अनुसार प्रदेश ५ को उत्पादन ३० प्रतिशत मात्रै रहेको छ भने बाँकी ७० प्रतिशत भारतका विभिन्न स्थानबाट आयात हुने गरेको छ।
रुपन्देही, पाल्पा, अर्घाखाँची तथा हेटौँडामा च्याउ उत्पादन हुने भएपनि बाँकी च्याउ भने भारतको सिलगुडिबाट बेलहीया र कृष्णनगर नाका हुँदै आउने गरेको शर्माले बताए।नेपालमा बि.सं. २०३९–०४० देखि तत्कालिन सरकारले कृषि कार्यालयबाट सरकारी हिसावमा मात्र च्याउ उत्पादन हुने भएपनि व्यवसायीक रुपमा खेती हुन लागेको संघका केन्द्रीय सदस्य शर्मा बताउँछन्।
बिचौलियाको बिगबिगी
च्याउ उत्पादन बिक्रि तथा उपभोग प्रक्रियासम्म पुग्दा झण्डै दोब्बर मुल्यको अबस्था आउने गरेको किसानको गुनासो छ। बजारमा राम्रै उपभोग हुने कन्य च्याउ प्रतिकेजी १ सय ७० देखि १ सय ८० रुपैयाँमा उत्पादकबाट खरिद हुने भएपनि बजार मुल्य भने २ सय ८० देखि ३ सय रुपैयाँसम्म पर्ने गरेको छ।
गोब्रे च्याउ पनि उत्पादक बाट २ सय ८० देखि ३ सय रुपैयाँ प्रतिकेजीसम्म खरिद गर्ने भएपनि बजारमा ४ सय रुपैयाँ भन्दा बढी प्रतिकेजीमा बिक्रि वितरण हुने गरेको छ।सम्भावना बोकेको च्याउ मिल्की च्याउ पनि उत्पादकसंग ३ सय रुपैयाँ प्रतिकेजीमा लिने गरेको भएपनि उपभोक्तासम्म आइपुग्दा ४ सय रुपैयाँ प्रतिकेजीसम्म पुग्ने गरेको छ।
परम्परागत उत्पादन शैली
प्रदेश ५ मा भइरहेको च्याउ खेती शैली परम्परागत रहेको पाइएको छ। परम्परागत तवरबाट उपयोग गरिएको सामाग्रीबाट अपेक्षित उत्पादन हुन नसकेको किसानहरुको गुनासो छ।
आधुनिक तवरबाट खेती गर्न आवश्यक तालिम र प्रविधिका लागिस्थानीय तथा प्रदेश सरकारसंग माग गरेको संघका केन्द्रीय सदस्य गंगाधर शर्माले बताए। ‘च्याउ खेती प्रणालीका लागि आवश्यक पर्ने कच्चा पदार्थ, विउ तथा हावापानीको आवश्यकता परेको बताउँँदै कसरी व्यवस्थापन गर्न सकिन्छ यसका लागि तालिम आवश्यक छ,’ उनले भने।
मिल्की च्याउ राम्रो विकल्प
च्याउ उत्पादन गरेपनि छिट्टै नै बिग्रिने समस्या आउने भएकाले नयाँ र उत्कृष्ट विकल्प मिल्की च्याउ हुने पनि च्याउ उत्पादकहरु सुझाउँछन्।
मिल्की च्याउ अन्य च्याउको तुलनामा लामो समयसम्म पनि नबिग्रिने भएकाले उत्पादन गर्दा घाटा नहुने उनीहरुको सुझाव छ। तराईका जिल्लामा ३५–४० डिग्री तापक्रममा उत्पादन गर्न सकिने मिल्की च्याउ बढीमा १२ दिनसम्म फ्रिजिङ गरेर राख्न सकिन्छ।