तुलसीपुर उपमहानगरपालिका–५ की विपना वली कर बुझाउनका लागि उपमहानगरपालिकाको कार्यालयमा आएकी थिइन्। काखमा बच्चा च्यापेर आएकी उनमा भर्खरै स्थापना गरिएको स्तनपान कक्ष देख्नै वित्तिकै खुसीको सीमा नै रहेन।
‘बल्ल बच्चालाई मनलाग्दो तरिकाले स्तनपान गराउन पाइने भयो। यस्तो राम्रो कामका लागि उपमहानगरपालिकालाई धन्यवाद छ,’ खुसी हुँदै उनले भनिन्। सेवाग्राहीको धेरै भिड लाग्ने उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना भएपछि अहिले महिलाहरुलाई निकै राहत मिलेको छ।
तुलसीपुर उपमहानगरपालिकाले महिलाहरुका लागि स्तपान कक्ष सञ्चालनमा ल्याएको हो। तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा अनुरुप स्तनपान कक्षको स्थापना गरिएको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक डा. गोकर्ण दाहालले बताए। संयोजक डा. दाहालका अनुसार सानो बच्चा लिएर आउने सेवाग्राहीहरु र मुख्यरुपमा सुत्केरी भत्ता लिन आउने महिलाहरुलाई मध्यनजर गरेर उक्त कक्ष स्थापना गरिएको हो।
डा. दाहालले सन् २०१६ को तथ्यांक अनुसार ५५ प्रतिशत महिलाहरुले मात्र ६ महिना सम्म निरन्तर स्तनपान गराउने गरेको जानकारी दिए। समयको अभाव, जनचेतनाको कमी, आधुनिक जीवनशैलीका कारण स्तनपान नगराउने महिलाहरुलाई बच्चा र आमाको स्वास्थ्यका लागि पनि निरन्तर स्तनपान गराउन आग्रह गरेका थिए।
‘बच्चालाई ६ महिनासम्म अनिवार्य रुपमा आमाको दुध खुवाउनुपर्ने, सुत्केरी प्रोत्साहन भत्ता लिन आउने सेवाग्राहीहरु र सानो बच्चा बोकेर आउने सेवाग्राही र कर्मचारी महिलाहरुका लागि सजिलो होस् भनेर उक्त स्थापना कक्षको स्थापना गरिएको हो,’ संयोजक दाहालले भने। करिब दुई लाखको लगानीमा निर्माण गरिएको उक्त कक्षमा सुतेर बच्चालाई दुध खुवाउनका लागि एउटा खाट र बस्नका लागि सोफा राखिएको छ।
कक्षको उद्घाटन गर्दै उपमेयर माया आचार्यले बच्चाको स्वास्थ्यका लागि स्तनपान अनिवार्य भएको बताइन्। ‘सबै महिलाहरुले बेहोर्दै आएको समस्या हो। काममा आउनुपर्ने, बच्चा रोएको बेलामा दुध खुवाउन नपाइने, असुरक्षित तरिकाले खुल्ला रुपमा दुध खुवाउनुपर्ने बाध्यता, बस्ने ठाउँ नै नहुने, यी विविध समस्याहरुलाई समाधान गर्न सकियोस् भनेर बच्चा र आमा दुबैको स्वास्थ्यका लागि मध्यनजर गरेर स्तनपान कक्षको स्थापना गरिएको हो,’उनले भनिन्।
उपमहानगरपालिकाले राम्रो काम गरेको स्तनपान कक्षमा आफ्नो ५ महिने छोरालाई स्तनपान गराइरहेकी तुलसीपुर–७ की विनिता केसीले बताइन्। ‘बच्चालाई लिएर काममा जानुपर्छ। तर, उचित समयमा दुध खुवाउन पाउँदैनौं, भिडभाडमा दुध खुवाउन पनि गाह्रो हुन्थ्यो अब भने सजिलो हुने भयो,’उनले भनिन्।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, प्रवक्ता श्याम डाँगी, कार्यपालिका सदस्य देबराज विश्वकर्मा, सदस्यहरु यमुना परियार, जानका रेग्मी लगायत उपस्थित कार्यक्रममा १० जना सुत्केरी सेवाग्राही महिलाहरुलाई न्यानो झोला पनि वितरण गरिएको थियो।