सदरमुकाम बेनीमा विद्युतको तार व्यवस्थित गर्न थालिएको छ।
नेपाल विद्युत् प्राधिकरणले एबिसी केबुलमार्फत सुरक्षित र व्यवस्थितरूपमा विद्युत् वितरण गर्न लागेको प्राधिकरणका बेनी शाखा प्रमुख नेत्रमणि न्यौपानेले जानकारी दिए।
केबुल प्रविधिबाट विद्युत् वितरण गर्दा विद्युतीय दुर्घटनाको जोखिम घट्नुका साथै विद्युत् चोरीसमेत नियन्त्रण हुने जनाइएको छ। नाङ्गो तारमा छोए करेन्ट लागेर दुर्घटना हुने भएकाले वितरण प्रणालीलाई सुदृढीकरण र व्यवस्थित गर्न लागिएको केन्द्रका सहायक इञ्जिनीयर कृष्णप्रसाद शर्माले बताए।
बेनीमा १२ किलोमिटरसम्म एबिसी केबुलबाट विद्युत् वितरण गरेर नाङ्गो ताररहित बनाइने प्राधिकरणले जनाएको छ। नाङ्गो तारभन्दा यो तार बढी तौलको हुने भएकाले पहिले पोल रहेका ठाउँको बीच–बीचमा थप पोल राख्न लागिएको छ। बजार क्षेत्रमा एक सय थप पोल राखिने प्राधिकरणले जनाएको छ।
यसैबीच बजारको केही ठाउँमा विद्युत्को पोल गाड्न स्थानीयबासीले अवरोध गरेका छन्। आफ्नो घर अगाडि पोल गाड्न नदिने केही स्थानीयवासीको अडान र विरोधका कारण गणेशटोल र पिपलचोक क्षेत्रमा पोल गाड्ने काम अघि बढ्न सकेको छैन।
बजारका अन्य क्षेत्रमा भने पोल गाड्ने काम भइरहेको छ। बेनपा–८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले एबिसी केबुलबाट वितरण गर्ने प्राधिकरणको योजनालाई सफल बनाउन विवाद समाधानका लागि सहजीकरण गरिने जानकारी दिए।