नयाँ मुलुकी ऐन लागू भएसँगै पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने पुरुषहरुको संख्या बढ्न थालेको छ। रुपन्देहीमा पछिल्लो १२ दिनमा १५ वटा सम्वन्ध विच्छेदका निवेदन परेका छन्।
विगतमा पुरुषहरु सिधै सम्वन्ध विच्छेदका लागि अदालत पुग्न सक्ने व्यवस्था नभएपनि नयाँ व्यवस्थामा त्यसलाई राखिएपछि पुरुषहरुको निवेदन बढ्न थालेको हो। जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार सञ्जीव पोख्रेलले दिएको जानकारी अनुसार महिलाको तुलनामा पुरुषहरुको निवेदन बढी परेको छ।
उनका अनुसार भदौ १ गतेदेखि १२ गते सम्मको तथ्यांक हेर्दा १५ जना पुरुषले श्रीमतीसँग सम्वन्ध विच्छेद गरी पाउँ भन्दै निवेदन दर्ता गराएका हुन्। त्यसरी निवेदन दर्ता गराउने मध्ये अधिकांश २५ देखि ३५ वर्ष उमेर समूहका रहेका छन्।
नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषहरु पनि सिधै अदालतमा जान सक्ने व्यवस्था गरेको छ। नयाँ ऐन लागू हुनुभन्दा पहिला पुरुषलाई सिधै अदालत आएर सम्बन्ध विच्छेदको लागि अदालती पक्रियामा जान पाउने व्यवस्था थिएन।
यसअघि सम्बन्ध विच्छेद गर्न चाहने पुरुषले स्थानीय तहमार्फत सिफारिस लिएर मात्रै अदालतमा सम्बन्ध विच्छेदका लागि जाने कानुनी प्रावधान थियो। पुरुषहरुले श्रीमतीले घर–व्यवहार चलाउन नसकेको, आफू बैदेशिक रोजगारीमा रहँदा सम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेको जस्ता आरोपसहित निवेदन दिएका छन्।