तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल सेक्युरिटी मजदुर संघ जिल्ला समिति मकवानपुरले सरकारले घोषणा गरेको तलव तथा सुविधा कार्यान्वयन गर्नका लागि दबाब सिर्जना गर्न थालेको छ ।
बिहिबार ३ नं प्रदेशको आन्तरिक तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर तथा श्रम कार्यालयमा २९ वटा बुँदाहरु उल्लेख गरी संघले मागपत्र बुझाएको छ । पत्रकार सम्मेलन गर्दै संघले भनेको छ–‘हामी आन्दोलनको माहौल बनाउने क्रममा छौं, मजदुर हीतका लागि कानूनी लडाइँमार्फत हामी लड्नेछौँ ।’
अखिल नेपाल मजदुर संघका केन्द्रीय सचिवालय सदस्य जनक शर्माले कानूनले व्यवस्था गरेको तलव, सुविधा र योगदानका आधारित सामाजिक सुरक्षा ऐन २०७४ को कार्यान्वयनका लागि मजदुरसम्बद्ध संघसंस्थाहरु तात्तिएको बताए । ‘अहिले हामी संगठन एकताको क्रममा छौं’, सचिवालय सदस्य शर्माले भने–‘संगठन एकता टुंगिएलगत्तै श्रम ऐनको कार्यान्वयन, तलब बृद्धिको कार्यान्वयन र श्रमशोषणको अन्त्यका निम्ति हामी कुनै न कुनै रुपमा आन्दोलित हुन्छौँ ।’
२५ बुँदे मागमा विदा सुविधा, औषधी उपचार बीमाको व्यवस्था, सरकारले बढाएको तलवको साउन महिनाबाटै कार्यान्वयन, श्रमिकका पर्व तथा धर्मसंस्कृति अनुसार विदाको व्यवस्था, संचय कोष अनिबार्यता, हरेक महिनाको १ देखि ५ गतेसम्म तलव दिने व्यवस्था लगायतका मागहरु राखिएका छन् । संघका जिल्ला अध्यक्ष रविन्द्र केसीले सेक्युरिटी मजदुरहरुमाथि भइरहेको ‘मानव बेचविखन’ रोक्नका लागि अब संघ तात्तिएर अघि बढेको बताए ।