उपचार शुल्क तिर्न नसक्दा रुपन्देहीको बुटवलमा रहेको एक निजी अस्पतालले १६ महिनासम्म बन्धक बनाएका एक व्यक्तिको उद्दार गरिएको छ।
प्रहरी प्रशासनको पहलमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगञ्जका २२ वर्षीय सुरज विकलाई अस्पतालबाट उद्दार गरिएको हो। उनलाई बुटवलस्थित जेनस अस्पतालले उपचार शुल्क तिर्न नसकेको भन्दै १६ महिनादेखि बन्धक बनाएर राखेको थियो।
विक दाहिने खुट्टा भाँचिएपछि ०७४ जेठ १४ मा जेनसमा भर्ना भएका थिए। उनले अस्पताललाई उपचार वापतको १४ लाख रुपैयाँ तिर्न बाँकीे थियो।सञ्चारमाध्यममा उपचार खर्च तिर्न नसक्दा विकलाई अस्पतालले बन्धन बनाएको समाचार बाहिर आएपछि प्रहरी प्रशासन उनलाई उद्दार गर्न सक्रिय भएको थियो।
खुट्टा भाँचिएपछि एक कट्ठा जग्गा दृष्टिबन्धक राखेर एक लाख लिएर आएका विकले अस्पतालको १५ लाखको बिल तिर्न नसकेपछि १६ महिनादेखि अस्पतालकै नियन्त्रणमा रहेका थिए। अस्पतालका सञ्चालक डा. मोहन सिंहले मानवीयताका हिसाबले पैसा नपाउँदा पनि उपचार गरेको प्रतिक्रिया दिए।
प्रशासनको रोहवरमा अस्पतालले २५ प्रतिशत उपचार खर्च छुट दिएको र बाँकी रकम तथा होटलहरुमा खाना खाएको रकम पुस मसान्तभित्र भुक्तानी गरिदिने सहमतिमा विकलाई छोडिएको हो। उनलाई उनका बाबु भागवत विकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्ली मल्लले बताए।