महोत्तरीको औरहीमा भएको ८ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिती गठन गर्ने भएको छ ।
शुक्रबार प्रदेश २ को प्रदेशसभा बैठकमा उठेको प्रश्नहरुको जबाफ दिदै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरी समिती गठन हुने बताएका छन् ।
उनले घटनको निष्पक्ष छानबिन गरि हत्यामा संलग्न व्यक्तिलाई कडा कारबाही गरिने उल्लेख गरेका हुन् । मन्त्री यादवले हत्यारा जंगलक्षेत्रमा लुकेर बसेकाले उनलाई खोज्न अप्ठ्यारो भइरहेको बताए ।
८ महिने बालिका सोनाली चौधरीको बलात्कार गरि हत्या गरिएको आंशका गरिएको छ । यसै सन्दर्भमा बोल्दै कानुन मन्त्री यादव बलात्कार बिरुद्ध प्रदेश सरकारले कडा कानुन बनाउने प्रतिबद्धता समेत जनाएका छन । उनले रौतहटको लालबकैया नदीमा ५ जनाको मृत्यु हुनेगरि भएको डुङ्गा दुर्घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई नबक्सिने बताए ।
समयमा काम नगर्ने ठेकेदारलाई समेत कारबाही गर्ने मन्त्री यादवे चेतावनी दिए । उनले भने, ‘समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गरिने छ । यसकालागि हामी छिट्टै सार्वजनिक खरिद ऐन ल्याउँछौ ।’ उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न प्रदेश सरकारले छिट्टै शुसासन सम्बन्धी विधेयक समेत ल्याइने जानकारी दिए ।
राजपाका प्रदेशसभा सदस्य मनिष सुमनले प्रधामन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रदेशसभामा सम्बोधन गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओली संविधान विपरित प्रदेशसभामा सम्बोधन गरेको भन्दै उनलाई ५ हजार जरिवाना गर्न समेत माग गरेका छन् ।
‘प्रधानमन्त्री ओलीले संविधान विपरित प्रदेशसभामा सम्बोधन गरेका छन् ।’ राजपाका महासचिव समेत रहेका सांसद सुमनले भने, ‘प्रधामन्त्रीका अंगरक्षकले प्रहरी पोशाकमै संविधान विपरित प्रदेशसभामा प्रवेश गरे ।
दुबैजनालाई ५÷५ हजार रुपैँया जरिवाना हुनुपर्छ ।’ सुमनले लालबकैया नदीमा समयमै पुल नबन्दा डुङ्ग दुर्घटना भएको र त्यसकालगि पुल निर्माणको ठेक्का लिएका पप्पु कन्सट्रक्सनलाई कारबाहीको माग गरे ।
उनले विश्व स्वास्थय संगठनले नै नेपालमा औँलो रोगको उन्मुलन भइसकेको घोषणा गरिसकेको दावी गर्दै यसकालागि प्रदेश सरकारले सुपानेट झुल वितरणकालागि ५ करोड छुट्टयाएको भन्दै आपत्ति जनाए । ‘बजेटमा सुपानेट झुल वितरणकालागी ५ करोड छुट्टयाउँदा हामी यसको विरोध गरेका थियौँ ।
त्यतीबेल अर्थमन्त्री विजय यादवले यो हटाइने प्रतिबद्धता जनाएपनि अहिले रेडबुकमा समेत उल्लेलख छ किन हटेन ?’ उनले भने । सुमनले प्रदेश २ मा आन्दोलनरत समाजिक परिचालकहरुमाथि प्रहरीले बर्बता गरेको बताउँदै आपत्ति जनाए । उनले समाजिक परिचालकहरुको माग पुरा हुनुपर्नेमा समेत जोड दिएका थिए ।
त्यस्तै, नेकपा प्रदेशसभा सदस्य मंजु यादव मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वप्रति नै प्रश्न उठाएकी छन् । उनले प्रधानमन्त्री ओलीको प्रदेशसभा सम्बोधनलाई सरकार पक्षकै सांसदहरुले बहिस्कार गर्दा समेत मुख्यमन्त्रीले केही गर्न नसकेको भन्दै उनले मुख्यमन्त्रीको नेतृत्वक्षमताप्रति प्रश्न उठाइन । सांसद यादवले प्रधानमन्त्री ओलीको सम्बोधनलाई बहिस्कार गरेका सांसदहरुलाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीले कारबाही नगरे उनले सत्तामा बसेको कुनै औचित्य नै नरहेको उल्लेख गरिन ।
उनले प्रदेश सरकार गठन भएको ८ महिना भइसकेपनि जनताले सरकारको कुनै काम तथा योजनाको अनुभुती लिन नसकेको बताइन् । अर्की प्रदेशसभा सदस्य ज्वाला साहले जनताको ईच्छा विपरित प्रदेश सरकारले रेडबुकमा मनमानी तरिकाले आवश्यक योजना ल्याएको भन्दै आपत्ति जनाइन् । उनी अहिलेको रेडबुकमा उल्लेखित योजनहबााट प्रदेश उज्यालोबाट अन्धारतर्फ जाने खतरा रहेको दावी गरिन् ।
यसैगरी शुक्रबारको प्रदेशसभा बैठकमा मुख्य न्यायधिवक्ताको काम , कर्तव्य र अधिकार तथा सेवाको अन्य सर्तको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीले पारित भएको छ ।