सप्तकोशी नदीको बाढीले प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिकाका ६ सय घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ।
कोशी नदीको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाठी गाउँपालिकाका घरमा पाँच दिनदेखि बाढी यथावत् रहेकाले दैनिक जनजीवन कष्टकर बनेको बाढीपीडितले बताएका छन्।
बस्ती नजिकैको विद्यालय डुबानमा परेपछि बाढीपीडित नजिकैको कृषि सेड तथा सडकमा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको बाढीपीडित रामकुमार सदाले जानकारी दिए।
घरमा रहेको खाद्यान्नसमेत नष्ट भएकाले भुजा र च्युराबाहेक अरु खानेकुरा नपाएको पीडितले गुनासो गरेका छन्।
बाढीले चामलसमेत डुबाएकाले खानेपानीको समस्या रहेको उनीहरुले गुनासो गरे। पाइलट च्यानलमार्फत् भारतले नदीको धार परिवर्तन गराएपछि पाँच दिन अगाडि सप्तकोशी नदीमा आएको बाढीले सप्तरीका मानवबस्तीमा बाढी पसेको थियो।
कोशी नदीमा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ६ का ५४० परिवार प्रभावित भएका छन्।
प्रभावित परिवारमध्ये करीब २०० परिवार कोशी नदीको पश्चिमी बाँधमा अस्थायी शिविर बनाएर बसेका छन्। कोशीको पानी घरमा पसेपछि स्थानीय बासिन्दा पाँच दिनदेखि घरमा खानासमेत पकाउन सकिरहेका छैनन्।
सुत्ने कोठा, भान्छा कोठा र शौचालय समेतमा पानी पसेपछि उनीहरु सुरक्षित स्थानका लागि अग्लो ठाउँमा बस्न बाध्य रहेको स्थानीय बासिन्दा चन्दन यादव बताए।
बस्तीमा पानी छिरेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ की तीन दिनकी सुत्केरी आफ्नै घरमा बाढीले घेरिएपछि कष्टकर र जोखिमपूर्ण जीवन बिताउन बाध्य भएको जनाइएको छ।
फुसको घर चारैतिर बाढीको पानीले घेरिएपछि २३ वर्षीया सहनाज खातुनको बिजोग भएको यादवले जानकारी दिए।
सुरक्षित स्थानको अभाव र घरमा दुई फिटसम्म पानी जमेपछि उनलाई नवजात शिशुसँगै कोठामा खाट राखी हालसम्म सुरक्षित राख्ने प्रयास गरिएको छ।
तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडी र वडा नं ५ को बर्साइनमा पनि ३० परिवारको घर डुबानमा परेको छ।
बाढी प्रभावित वडामा रहेको चर्पी तथा खानेपानी ट्युबवेल पानीमा डुबेकाले त्यहाँका बासिन्दा खुला ठाउँमा दिसा बस्ने गरेका कारण फोहर बढ्दै गएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए।
बीस वर्षपछि सप्तकोशीको बाढी यस बस्तीमा पसेको स्थानीयको भनाइ छ।