हेटौंडामा बढ्दो पार्किङ चाप र अस्तब्यस्त यातायात व्यवस्थालाई व्यवस्थित गर्न हेटौँडा उपमहानगरपालिकाले सोमबारबाट सबै कम्पनीका टाटासुमोका काउन्टरहरु एकै स्थानमा स्थापना गरेको छ ।
हेटौँडा उपहानगरपालिका १ चौकीटोलस्थित रोप वेको खाली जग्गामा साझा सुमो काउन्टर स्थापना भएको हो । मेयर हरिबहादुर महतले यात्रुहरु भरिएको टाटासुमोलाई साझा काउन्टरबाटै रिबन काटेर संघीय राजधानी काठमाडौँ पठाएर साझा सुमो काउन्टरको शुभारम्भ भएको घोषणा गरे ।
यसअघि भदौ १ गतेबाट एकीकृत सुमो काउन्टर सञ्चालनमा आउने भनिएको थियो । तर, प्राविधिक बिषयहरु मिलाउन नसकेकाल सञ्चालनमा ढिलाई भएको मेयर महतले बताए ।
३ नं प्रदेशको राजधानी हेटौँडामा बढ्दो भिआइपी सवारी चाप, अस्तब्यस्त सुमोको स्ट्यान्डहरु तथा अस्तब्यस्त अटो तथा मयुरीहरुको अबस्थालाई मध्यनजर गर्दै एकीकृत साझा सुमो काउन्टर स्थापना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
यसअघि टिसिएनरोड, बसपार्क, पीपलबोट, मेनरोड, बैँकरोड लगायत स्थानहरुमा टाटासुमो काउन्टरहरु स्थापना गरिएका थिए । हेटौँडासहरसहित बीरगञ्ज, बारा, रौतहट, सर्लाही लगायत जिल्लाबाट संघीय राजधानी काठमाडौँतर्फ दैनिक एकहजारभन्दा बढी टाटासुमो सञ्चालन हुने गरेको छ ।
साझा सुमो काउन्टर उद्घाटनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ लगायतले पार्किङ व्यवस्थापन र ठगीबाट जोगिनका लागि साझा सुमो काउन्टर प्रभावकारी हुने बताएका थिए ।