प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मंगलवार आयोजना गरेको प्रदेश समन्वय परिषदको प्रथम बैठकलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले संविधानले नै तीनै तहका सरकारबीच सह अस्तित्वको परिकल्पना गरेकाले सोही भावना अनुरुप अगाडी बढनु पर्ने बताए ।
प्रदेशको समग्र विकास तथा प्रदेश सरकार र स्थानीय तह बीचको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको एकीकृत विकासका लागि एक अर्काको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरेका छन् ।संविधानले व्यवस्था गरेको कतिपय धाराले प्रदेश र स्थानीय तहबीच नङ्गमासुको सम्बन्धको कायम रहेको बताउदै उनले प्रदेश र स्थानीय सरकारलाई एक अर्काको परिपुरक बनाउन पर्ने उल्लेख गरे ।
संघीयता अहिले कार्यान्वयनको चरणमा रहेकाले जनतामा वितृष्णा बढने कार्य कतै बाट हुन नहुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले कुनै प्रकारको कर वृद्धि नगर्न स्थानीय प्रमुख उपप्रमुखहरुलाई आग्रह समेत गरेका छन् ।
विगतको अवस्थाले यस क्षेत्रमा व्यापक अनियमतताहरु भएको टिप्पणी गर्दै उनले अबको दिनमा जनतालाई सुशासनको अनुभूति हुने गरि कार्य गर्न स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई आग्रह गरे । उनले प्रदेश भित्र भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रदेश सरकारले सुशासन आयोग गठन गर्न लागेको जानकारी समेत गराए ।
मुख्यमन्त्री राउतले संविधानका त्रुटीका कारण जिल्ला समन्वय समितिलाई अपांङ्ग बनाइएको बताउदै त्यस समस्याको समाधान गरि जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउन प्रदेश सरकार सकारात्मक रहेको समेत बताए ।
फरक प्रसुंगमा बोल्दै मुख्यमन्त्री राउतले विगत लामो समय देखी स्थानीय तहमा काम गर्दै आएका समाजिक परिचालकहरुलाई व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह गरेका हुन् ।