लमजुङको दोर्दीखोलामा निर्माणाधीन मोटरेवल पुलले गति लिन नसक्दा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ। पुल नबन्दा विशेषगरी दोर्दी करिडोरमा निर्माणाधीन अवस्थाका जलविद्युत आयोजनाहरू बढी प्रभावित भएका छन्।
बेसीशहर नगरपालिका–११ चिति र दोर्दी गाउँपालिका–४, नौथर जोड्ने दोर्दीखोलाको मोटरेवल पुल ७ वर्ष बित्दा पनि निर्माण हुन नसकेको हो। दुई वर्षमा निर्माण सक्ने गरी २०६८ सालदेखि काम थालिएकोे मोटरेबल पुल सडक डिभिजन कार्यालयको चरम लापरवाहीकै कारण पुल बन्न नसकेको दोर्दी गाउँपालिका–४ का स्थानीय मोहनप्रसाद घिमिरेले बताए।
पुल नबन्दा सिंगो गाउँपालिकाका बासिन्दालाई समस्या परेको छ। हिउँदमा खोलामा ह्युमपाइप राखेर सवारी साधन आवतजावत गरेपनि वर्षायाममा भने यातायात सेवा ठप्पै हुँदा स्थानीय सर्वसाधारण र व्यापारीहरूलाई समेत समस्या परेको दोर्दी गाउँपालिका–४ नौथरका स्थानीय व्यापारी राजकुमार श्रेष्ठले गुनासो पोखे। ‘ठेकेदार कम्पनीलाई मस्ती छ। तर, स्थानीयले दिनहुँ सास्ती खेप्नु परेको छ,’उनले भने।
लमजुङको दोर्दी कोरीडोरमा मात्रै हाल चारवटा जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। निर्माणाधीन जलविद्युत आयोजनाहरूले दोर्दीखोलामा बन्दै गरेको मोटरेवल पुलकै कारण प्रत्येक वर्ष ६ महिना सास्ती भोग्नुपरेको दोर्दी–१ जलविद्युत आयोजना प्रमुख उज्वल सिलवाल बताए।
मोटरेवल पुल नबनेकै कारण जलविद्युत आयोजनाहरू पनि निर्धारित समयमा सक्न कठिनाइ भएको र वैकल्पिक बाटो भएर पनि लामो दूरी र निकै साँघुरो सडक हुँदा प्रत्येक वर्ष ६ महिनासम्म कुनैपनि सामान ढुवानी गर्न समस्या भएको बज्रगुरू कन्सट्रक्सन प्रालि, अपर दोर्दी आयोजना प्रमुख रविन्द्र हमाल बताउँछन्।
दोर्दी कोरीडोरमा २७ मेगावाटको दोर्दी जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी–१, २५ मेगावाटको दोर्दी ए र ४९.६ मेगावाटको सुपर दोर्दी ‘ख’ गरी चारवटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। आयोजनाहरूले हिउँदमा खोलामा ह्युमपाइप राखेर सामान ढुवानी गरेपनि वर्षायाममा भने यातायात सेवा ठप्पै हुँदा ढुवानी पनि ठप्प हुने गरेको छ।
साउन र भदौ महिना वर्षा हुने भएकाले काम रोकिएको र असोजबाट काम सुरू हुने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ। कार्यालयका अनुसार सम्झौताको आधा रकम निर्माण कम्पनीलाई दिइसकिएको र अब पुरै काम सकेर मात्रै दिने कार्यालयका इन्जिनियर कमल श्रेष्ठले बताए। तोकिएको समयमा पुल नबनेपछि स्थानीय जनप्रतिनिधिले पटक–पटक सडक डिभिजन कार्यालयमा अनुरोध गर्दापनि काममा कुनै प्रगति हुन नसकेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरूङको गुनासो छ।
२०७० असार मसान्तसम्ममा पुल निर्माण सकिसक्नु पर्ने सम्झौता रहेको डिभिजन सडक कार्यालय दमौलीले जनाएको छ। ७५ मिटर लम्बाइ र ६ दशमलब २५ मिटर चौडाइको पुल करिब ४ करोड रूपैयाँ लागत सपना–जयबाबा जेभीले निर्माण गर्ने जिम्मा लिएको थियो।