पूर्वी नवलपरासीस्थित देवचुली डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। पछिल्लो समय देवचुली डाँडामा आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि आउन थालेका छन्।
देवचुली नगरपालिका–६ र बुलिङ्गटार गाउँपालिका–४ मा पर्ने सो क्षेत्रमा रहेका तीनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति उद्यान र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी बताउँछन्। नवलपुरको थारू संस्कृति तथा मध्यवर्ती जङ्गलमा बाघ, हात्ती, गैँडालगायत वन्यजन्तु हेर्नसमेत पर्यटक आउन थालेका छन्।
देवचुली क्षेत्रको धार्मिक तथा ऐतिहासिक पुरातात्विक महत्वका बारेमा प्रचार–प्रसार गरी सिङ्गो पर्यटन क्षेत्रको विकास गर्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने देवचुली डाँडा पर्यटकीय क्षेत्र पूर्वाधार विकास समितिका अध्यक्ष पदमराज गिरिले बताए।
यहाँ समितिले एक हजार ९३६ मिटर अग्लो डाँडामा २३ फिट अग्लो भ्यूटावर निर्माण गरेको छ। उक्त भ्यूटावरबाट मनोरम दृश्यावलोकन गर्न सहज भएको छ।